पोखरा ।
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरामा पर्यटकको बसाई लम्बाउन फेवाताल किनारमा फुटट्रयाक आवश्यक भएको बताएका छन् ।
पोखरा २२ स्थित तालपारी अनदु गुरुङ समाजको सोमबार अनदुमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री बरालले पोखरामा आउने पर्यटकको बसाई अवधि लम्बाउन फेवातालको किनार क्षेत्रमा फुटट्रयाक निर्माण गर्न आवश्यक भएको बताएका हुन् ।
फेवातालबाट नजिक भएर पनि पोखरा २२ माथिल्लो तथा तल्लो अनदु क्षेत्र सहितका स्थानियहरु अझै विकासको पूर्वाधारको हिसावले पछि परेकोले ताल वरीपरीको क्षेत्रको विकाससंगै पर्यटकको बसाई लम्बाउन पनि फुटट्रयाक बनाउदा धेरैलाई फाइदा पुग्ने मन्त्री बरालको भनाई थियो ।
स्थानियलाई ऐतिहासिक पुरात्तात्विक बस्तुहरुको संरक्षण गरी आफ्नो थाकथलो नछाड्न आग्रह गर्दै मन्त्री बरालले आवश्यक पूर्वाधार निर्माण गर्न सडक, गोरेटो बाटो निर्माण गर्न पहल गर्ने वचन दिए । उनले भने, ‘पहिला मैले घाँस काटेको, दुध वोकेको यही ठाँउ हो, यो स्वर्ग जस्तो ठाँउ छाडेर तपाईहरु कत्ति विचलित नहुनुहोस विकासको आवश्यक पूर्वाधार निर्माणमा हामीले केही न केही गछौं ।’
नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले माओबादीको नेतृत्व बिना देशमा आर्थिक विकास समृद्धि हासिल गर्न नसकिने दाबी गरे । माओबादीसंग विचार र भिजन भएकोले माओबादी नेतृत्वलाई अब सवै पार्टीले साथ र सहयोग गर्न समेत उनले आग्रह गरे ।