‘प्रविधि प्रयोग गरेर छरितो रुपमा सेवा दिनुहोस् : मुख्यमन्त्री पोखरेल

केन्द्रभाग मिडिया

पोखरा।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सूचना प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौंथो र पाँचौ तहका कर्मचारीका लागि गरेको सेवाकालीन तालिमको उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले उक्त निर्देशन दिएका हुन् ।

अहिले पुराना ढड्डा पल्टाएर बस्ने बेला गइसकेको भन्दै उनले कार्यालय व्यवस्थापन र सेवा प्रवाह दुवै पक्षको ख्याल गरेर काम गर्न उनले आग्रह गरे । क्षमता अभिवृद्धि र कार्यशैलीमा परिवर्तन ल्याउनका लागि तालिमहरु हुने गरेर ती तालिमको उपलब्धि निकै कम हुने गरेको प्रसंग उठान गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार मातहतको प्रतिष्ठानले त्योभन्दा माथि उठेर काम गर्दै आएको बताए ।

राजनीतिक परिवर्तनसँग सरकारको नेतृत्व फेरबदल भए पनि कर्मचारीतन्त्र स्थायी सरकार भएकाले गुनासो नआउने गरी प्रभावकारी काम गर्न उनले आग्रह गरे । ‘हामी आउँछौं जान्छौं, दलको राजनीतिक प्रतिबद्धता अनुसार हामीले कार्यक्रमहरु ल्याउँछौं, त्यसलाई कानुनी मान्यता पाउने गरी कार्यान्वयनमा लैजाने तपाईंहरु नै हो, तपाईंहरुको कार्यशैलीमा सरकारको सफलता र असफलता निर्भर छ ।’ यो तालिमले कर्मचारीको वृत्ति विकासमा समेत सघाउने भएकाले त्यही अनुसार यसको उपभोग गर्नु पर्ने उनको भनाइ थियो । प्रदेश सरकार बजेटको सिमितताबीच अगाडि बढिरहे पनि कर्मचारीको क्षमता अभिवृद्धिका लागि कुनै कन्जुस्याइँ नगरेको उनले बताए ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमालले तालिममा जुसुकैले पनि ज्ञान, सीप र व्यहारमा परिवर्तन गर्ने शैली सिक्ने भएकाले त्यसको अधिकतम उपयोग गर्न आग्रह गरे ।
मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोलाले सेवाग्राही आएर पहिला ठोक्किने नै सहायकस्तरका कर्मचारीसँग भएकाले नरम र सहज व्यवहार प्रस्तुत गर्न आग्रह गरे । संघीय शासन प्रणालीमा ३ तहका सरकारबीच समन्वयकर्ताको भूमिका समेत कर्मचारीले निभाउनुपर्ने भन्दै उनले कर्मचारीमाथि सरकारले गरेको लगानीको सही नतिजा आउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहायकस्तरका कर्मचारीका लागि थालेको ३० कार्यदिने तालिममा कार्यालय सञ्चालन तथा व्यवस्थापनका बारेमा शैद्धान्तिक व्याहारिक पक्षका विषयमा प्रशिक्षण दिइने जानकारी दिए ।

कर्मचारीको ज्येष्ठताका आधारमा मापदण्ड बनाएर कर्मचारी छनोट गरिएको र पहिलो चरणमा ६० जना छानिएको उनले बताए । १ सय २० जनालाई यो तालिम प्रदान गरिनेछ । तालिममा ११ जिल्लामा संघ, प्रदेश र स्थानीय तहका कार्यालयका कर्मचारी सहभागी छन् ।

२० महिना अघि स्थापित प्रतिष्ठानले ५ वर्षे रणनीति बनाएर त्यही अनुसार अगाडि बढेको उनले बताए । २ वर्ष भित्रमा सुविधासम्पन्न भवन निर्माण गरेर प्रशिक्षण र अनुसन्धानमा प्रतिष्ठानलाई अब्बल सावित गर्ने प्रतिबद्धता उनले जनाए । यो तालिम लिएपछि कर्मचारीको बढुवाका लागि २ नम्बर थपिन्छ । तालिमका सूचना प्रकाशन गर्दा १ सय ७८ जनाले आवेदन दिएको र तीमध्ये १ सय २० जना छानिएका हुन् । बाँकीलाई पनि क्रमश तालिम प्रदान गरिने पाण्डेले बताए ।

  • २९ कार्तिक २०७८, सोमबार १८:५५ प्रकाशित