भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै

केन्द्रभाग मिडिया

विराटनगर ।
नेकपा एमाले विभाजनको असर प्रदेश–१ मा पनि देखिन थालेको छ । माधवकुमार नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेसँगै प्रदेश–१ मा यसको असर देखिएको हो ।

लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएका एमालेका दोस्रो तहका १० नेता एमालेमै बसेपछि प्रदेश–१ को सरकार पनि फेरिने भएको छ । मुख्यमन्त्री शेरधन राईले करिब साढे तीन वर्ष लामो सत्ता यात्रा टुंगाउन लागेका हुन् । राईले  आज एमाले प्रदेश–१ संसदीय दलको बैठक बोलाएका छन् ।

बिहीवार नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्नुअघि नै प्रदेशमा संसदीय दलको बैठक बसेर दल नेता परिवर्तन गर्ने योजना एमालेमा छ । बिहीबार संसदीय दलको बैठकका लागि ठीक पर्नु भन्ने जानकारी प्रदेशका एमालेका सांसदलाई नेतृत्वले दिइसकेको छ ।

मुख्यमन्त्री राईले राजीनामा दिएलगत्तै दलको बैठकले औपचारिक रुपमा दलको नेता भीम आचार्यलाई बनाउने र आज नै मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेशप्रमुख समक्ष सिफारिस गर्ने तयारी गरेको एमालेका एक सांसदको भनाइ छ ।

काठमाडौंमा केन्द्रीय कमिटी बैठक समेत रहेकाले त्यस अगाडि पार्टीको द्वन्द्व सकिएको सन्देश दिन बिहीबार नै मुख्यमन्त्रीमा भीम आचार्य आउन सक्ने चर्चा छ ।

आचार्यलाई मुख्यमन्त्री बनाएर सत्ता हस्तान्तरण गर्नेबारेमा राई अहिले काठमाडौंमा एमाले शीर्ष नेतृत्वसँग छलफलमा छन् । केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका मुख्यमन्त्री राई बिराटनगर गएका छन् ।

राई एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट हुन् भने आचार्य वरिष्ठ नेता झलनाथ खनालनिकट । खनाल दिल्ली जानु अघिसम्म उनी नेपाल–खनाल समूहमै थिए । तर पछिल्लो समय नेपालले पार्टी फुटाउने कुरामा असहमति राख्दै आचार्य एमालेमै बसेका छन् ।

प्रदेश–१ मा एमालेका ५१ सांसद छन् । जसमा १३ सांसद आफ्नो पक्षमा भएको नेपाल नेतृत्वको नेकपा समाजवादीले दावी गर्दै आएको छ । अहिलेसम्म ४ जना नेपालको नेकपा समाजवादीमा खुलिसकेका छन् ।

प्रदेश सांसदहरु राजन राई, राजेन्द्र राई र गणेश काङमाङ नेपालको नयाँ पार्टीका केन्द्रीय सदस्य भइसकेका छन् । प्रदेश १ मा हाल ९२ जना सांसद छन्। सरकार बनाउन ४७ जना सांसद आवश्यक पर्दछ ।

  • १० भाद्र २०७८, बिहीबार ११:०० प्रकाशित