आज यम पञ्चक (तिहार) को चौथो दिन, गोवर्धन पूजा गरेर मनाईदै

केन्द्रभाग मिडिया

पोखरा ।

आज गोवर्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । कृषिप्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरूमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्त्वका कारण सम्झिने गरिन्छ ।

त्यसैगरी, नेवार समुदायले आज म्ह:पूजा आत्मशुद्धिको पूजा गर्छन्र । त्यस्तै, आजबाट नेपाल संवत् ११४२ सुरु भएको छ । आज नेवार समुदायले नयाँ वर्षको दिनको रूपमा मनाउने गर्छन् ।

भगवान् श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छी औंलाले गोवर्धन पर्वतलाई उठाएर द्वारिकावासीलाई ओत लगाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ ।

भगवान् श्रीकृष्णसँग आजकै दिन इन्द्रले आफ्नो क्रोधयुक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ । आजको दिन, श्रीकृष्णले आफ्नो औंलाले उठाउनुभएको त्यही गोवर्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्धन पर्वतको पूजाआजा गर्दा गाईबस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतीकका रूपमा पुज्ने चलन छ ।

गोवर्धनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसका साथै आज कृषि औजारहरूको पनि पूजा गरिन्छ । आजको दिन गोरुलाई पिठो, नुन, चोक्कर र पानी मिश्रित घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलो रोटी अर्थात् बाबर खान दिइन्छ ।

  • १९ कार्तिक २०७८, शुक्रबार ०५:५३ प्रकाशित