समाजमा रेडक्रसको भूमिका प्रशंसनीय : मन्त्री थापा

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले समाजमा रेडक्रसको भुमिका महत्वूर्ण रहेको बताएका छन् ।

सोमबार नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले मानवीय सेवामा रेडक्रसको भूमिका प्रशंसनीय रहेको बताए ।

उनले भने, ‘ जहाँ दुख छ,त्यहाँ रेडक्रस पुग्ने गरेको छ ।समाजमा रेडक्रसको भूमिका महत्वपूर्ण छ ।’ परोपकारी संस्थाको रुपमा रेडक्रस परिभाषित रहेको भन्दै भूकम्पका बेला होस् या अन्य प्राकृतिक विपतका समयमा रेडक्रस सँधै अगंपक्तिमा रहेर सेवा गर्ने गरेको भनाई उनले राखे ।

मन्त्री थापाले कोभिडका समयमा सबै क्षेत्र ठप्प हुँदा एम्बुलेन्स सेवा र रगत अभावलाई परिपूर्ति गर्न रेडक्रसले पुर्याएको योगदानलाई प्रशंसा गरे । उनले भने, ‘हरेक क्षेत्र ठप्प हुँदा पनि रेडक्रस समाज सेवामा लागिरहयो । सबै कोरोनाबाट डराए तर रेडक्रसलाई मानवीय सेवामा समर्पित भएको देख्न पाइयो। रगत अभाव समेत हुन दिएन । हाल केही हदसम्म भएको कोरोना नियन्त्रणमा रेडक्रसको भूमिका प्रशंसनिय छ ।’

प्रदेश सरकारले रेडक्रसलाई निरन्तर रुपमा सहयोग गर्दै आइरहेको र आगामी समयमा पनि गरिरहने प्रतिबद्धता उनको छ । मन्त्री थापाले रेडक्रसले पोखरा ८ सिर्जनाचोकमा बनाउँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंकका लागि आवश्यक भवन निर्माणमा देखिएका समस्यालाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

  • १५ कार्तिक २०७८, सोमबार १६:०७ प्रकाशित