युथ कांग्रेस नेपाल पोखराको विरोध : ‘पिरियड इटसेल्फ इज ट्याक्सिङ इनफ’

केन्द्रभाग मिडिया

पोखरा ।

सरकारले प्याडमा लगाएको करको देशव्यापी विरोध भएको छ ।

महिनावारी हुँदा लगाउने स्यानीटरी प्याडमा लगाएको रातो करको विरुद्ध विभिन्न संघसंस्थाले विरोध प्रर्दशन गर्दै आएका छन् । यसैबीच यता पोखरामा पनि आज स्यानीटरी प्याडमा लगाएको कर तुरुन्तै फिर्ता गर्न सचेत गराउँदै युथ कांग्रेस नेपाल पोखराले विरोध प्रर्दशन गरेको छ ।

यूथ कांग्रेसले स्यानीटरी प्याडमा लगाएको ‘रातो कर खारेज गर्’ भन्दै पोखराको चिप्लेढुंगा स्थित मानवअधिकार चोकमा सांकेतिक विरोध प्रर्दशन गरेका हुन् ।

मानिसको स्वेइच्छाले गर्ने यौन सम्पर्कका लागि प्रयोग गर्ने कण्डम निशुल्क भईरहँदा प्राकृतिक रुपले नै हुने महिनावारीका बेला प्रयोग हुने स्यानीटरी प्याडमा कर लगाउनु महिलामाथिको दमन भएको प्रर्दशनमा उत्रेका युथहरुले भनाई राखेका थिए ।

निशुल्क वितरण गर्नुपर्ने प्याडलाई उल्टै कर लगाउने कामले स्वास्थ्य माफियाहरुलाई हौसला मिलेको र प्याड जस्तो सम्वेदनशिल वस्तुमा कर छुट नगरेमा कडा आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिए ।

सो क्रममा उनीहरुले महिनावारी सम्बन्धि सम्पूर्ण सामाग्रीहरुमा लाग्ने गरेको हरेक प्रकारको कर हटाउनुपर्ने, महिलाहरुको सहज पहुँचमा पुग्ने गरी सामाग्रीहरुको व्यवस्थापन गर्न माग गरेका थिए ।

प्रर्दशनका क्रममा उनीहरुले महिनावारीमा महिलाले भोग्ने समस्याहरुको डेमो प्रस्तुत गरेका थिए । प्रदर्शनकारी युथहरुले ‘पिरियड इटसेल्फ इज ट्याक्सिङ इनफ’, याक्स दि ट्याक्स मेक अस रिल्याक्सड, सरकार महिनावारीमा कर कहिले सम्म ? लगायत लेखेका प्लेकार्ड सहित नारा लगाएका थिए ।

कार्यक्रममा सुशांक पराजुली,मोनिका बुढाथोकी, श्रृजा पौडेल, रेविना खड्का लगायतले महिलालाई निशुल्क वितरण गर्नुपर्ने सामाग्रीमा कर लगाएर महिलाको अपमान गरेको बताएका थिए ।

  • १६ आश्विन २०७८, शनिबार १८:५८ प्रकाशित