विगतको बखान होइन, भविश्य हेरेर वर्तमानमा राम्रो गर्नुपर्छ : मन्त्री श्रेष्ठ

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रबिधी तथा समाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले नेताहरुले विगतको बखान गरेर नभई वर्तमानको अवस्था विश्लेषण गरेर काम गर्नुपर्ने बताएका छन् ।

बाल अधिकार सम्बन्धि महासन्धिको प्रतिवेदन (छैटौं र सातौं) माथी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अब विगतमा यस्तो भएको थियो भनेर होइन । २००७ सालमा यस्तो भएको थियो भनेर होइन । अहिलेको आवश्यकता के हो र अहिले गरेको कामले भोली कस्तो प्रभाव पार्छ भनेर हेर्नुपर्छ । त्यही अनुरुप काम गर्नुपर्छ’ उनले भने ।

गण्डकी प्रदेश सरकार बाल अधिकारका विषयमा सचेत रहेको भन्दै उनले बाल अधिकार सम्बन्धि विधेयक प्रदेशसभा पेश भएको र अब आउँदो हिँउदे अधिवेशनमा त्यो पास हुने जानकारी दिए ।

प्रदेशका दुई स्थानीय तह बालमैत्री स्थानीय तहको रुपमा घोषणा गरिएको भन्दै उनले क्रमस अरु स्थानीय तह र प्रदेशलाई नै बाल अधिकार मैत्री घोषणा गर्ने तर्फ अगाडि बढ्ने उनको भनाई छ ।

बाल अधिकार मैत्री बोलाई र लेखाईमा मात्र नभई व्यवाहारमै हुनुपर्ने उनको धारणा थियो । कार्यक्रममा सहभागीहरुबाटै त्यसको सुरुवात गरिहाल्नुपर्ने र अरुलाई बाल अधिकारका विषयमा जानकारी गराउनुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश नीति तथा योजना अयोगका सदस्य मायाँ तिम्सिनाले प्रदेश सरकारले अगाडि सारेको प्रथम पञ्च वर्षीय योजनामै बाल अधिकारका विषयमा प्रष्टरुपमा व्याख्या गरिएको जानकारी दिइन् । उनले आगामी दिनमा योजना बन्दा बाल अधिकारको दृष्टिकोणले पनि विश्लेष्ण गरेर योजना बनाउने प्रतिवद्धता जनाईन् ।

राष्ट्रिय बाल अधिकार परिषद्का कार्यक्रम प्रमुख आत्मराम थापाले आफूहरुले देशका विभिन्न प्रदेश र ५२२ स्थानीय तहमा पुगेर बाल अधिकारको विषयमा छलफल चलाएको जानकारी दिए । गण्डकी प्रदेशको कार्यक्रम उत्कृष्ट रहेको भन्दै उनले बालबालिका सम्बन्धि कार्यक्रममा मन्त्रीले लामो समय दिएको भन्दै आभार समेत प्रकट गरे ।

कार्यक्रममा बोलदै गैरसरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष विना सिलवालले कानूनमा धेरै कुरा लेखिएपनि लक्षित बालबालिकाले अधिकार प्राप्त गर्न नसकेको बताइन् । उनले बालअधिकारको क्षेत्रमा धेरै काम भएपनि लक्षित बर्गका बालबालिका समक्ष कार्यक्रम पुग्नुपर्ने र प्रतिफल प्राप्त हुनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा सहभागीहरु बीच ७ वटा समूह बनाएर समूहगत प्रस्तुति राख्दै प्रस्तुत भएका सुझावलाई समेट्ने उक्त अवसरमा जानकारी दिइएको छ ।

 

  • १६ आश्विन २०७८, शनिबार १८:१० प्रकाशित