गण्डकीमा राजस्व तिरेको १० मिनेटमा लाइसन्स पाइने

केन्द्रभाग मिडिया

पोखरा । पोखरामा राजश्व तिरेको १० मिनेटमै सवारी चालक अनुमति पत्र (लाइसन्स) पाइने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र पोखराले परीक्षणकालीन सवारी चालक अनुमति पत्र वितरण सुरु गरेको हो ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले चालक अनुमति पत्र वितरण सुरु गरे । सो अवसरमा यातायात कार्यालयका कर्मचारीहरूलाई निर्देशन दिँदै खड्काले भने “अब सेवा ग्राही घण्टौँ लाइनमा बस्नु नपरोस् ।” प्रदेश मा अहिले करिब ८७ हजार आवेदकहरूको नयाँ लाइसेन्सको पर्खाइमा रहेको भन्दै मन्त्री खड्काले अब तत्कालै चालक अनुमति पत्र दिने गरि काम गर्न निर्देशन दिए ।
कार्यालयले वितरण गर्न लागेको स्मार्ट लाइसेन्स स्थायी भने हैन। यसको १ वर्षको म्याद हुन्छ । यो कार्ड पानीमा भिज्ने र हराउने सम्भावना पनि कम हुने बताइएको छ ।
यातायात कार्यालय कास्कीले परीक्षणकालीन लाइसेन्स छाप्ने प्रिन्टर डेढ लाखमा किनेको थियो ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले आज भोलि नागरिकहरूलाई लाइसेन्स लिन निकै समस्या भएको बताए । अब ट्रायल विधि पनि नयाँ र सिस्टम समेत नयाँ बनाउने तर्फ प्रदेश सरकारले काम गर्न लागिरहेको उनले बताए ।

कार्यक्रममा गण्डकी ट्राफिक प्रहरी प्रमुख ठग बहादुर के।सीले अब नागरिक र प्रहरीलाई यो परीक्षणकालीन लाइसेन्सले सजिलो हुने र दुरुपयोग हुने सम्भावना कम रहेको बताए ।

अव सेवाग्राहीलाई कुनै झन्झट नहुने गरी काम गर्ने गरी कार्यालय अगाडि बढेको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र पोखराका प्रमुख भरत राज काफ्लेले बताए ।

  • १५ आश्विन २०७८, शुक्रबार १८:१२ प्रकाशित