तातोपानी कुण्डमा नुहाएर निको हुन जानेको भीड

केन्द्रभाग मिडिया

म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा बिरामीको भीड लाग्न थालेको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित तातोपानी कुण्डमा नुहाएर निको हुन जाने बिरामीको भीड लागेको हो ।

कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको तातोपानी कुण्ड यही असोजको पहिलो सातादेखि खुला गरिएपछि उपचारका लागि नुहाउन जाने बिरामीको भीड लागेको हो ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढेसँगै वैशाखको तेस्रो सातादेखि तातोपानी कुण्ड बन्द गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना गरेर तातोपानी कुण्ड खुला गर्न अनुमति दिएपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले असोज पहिलो सातादेखि सर्वसाधारणका लागि खुला गरेको हो ।

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले उच्च स्वास्थ्य सतर्कता अपनाएर कुण्ड खुला गरिएको र आगामी दिनमा अझै व्यवस्थित बनाउँदै लैजाने पहल सुरु भएको कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिए । समितिका सचिव केसीका अनुसार कुण्ड खुलेसँगै दैनिक डेढसयदेखि दुईसयको हाराहारीमा बिरामी कुण्डमा नुहाएर रोग निको गराउन जाने गरेका छन् । कोभिडविरुद्धको खोप लगाएको कार्ड वा नेगेटिभ रिपोर्टको प्रमाण देखाएर मात्र कुण्डमा प्रवेश दिइने गरिएको छ ।

केही दिनयता बिरामीको चाप बढ्दै गएपछि कुण्डमा प्रवेश गर्दा अनिवार्यरुपमा माक्स लगाउनुपर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने र भीडभाड गर्न नहुने नियमलाई कडाइका साथ कार्यान्वयन गरिएको केसीको भनाइ छ । अहिले कुण्डमा जाने बिरामीलाई आलोपालो गरेर नुहाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

  • १४ आश्विन २०७८, बिहीबार १६:३६ प्रकाशित