काठमाडौंमा आजदेखि मेला, महोत्सव तथा जुलुस जस्ता भिडभाडजन्य कार्यमा रोक

केन्द्रभाग मिडिया

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज देखि भीडभाडजन्य गतिविधिमा रोक लगाउने भएको छ । जिप्रकाले चाडबाड नजिकिएसँगै आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भीडभाड, मेला र महोत्सव गर्न रोक लगाउने भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा अनावश्यक रुपमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने उल्लेख गरिएको छ ।

कोरोना संक्रमणको जोखिम अझै पनि रहेको भन्दै दशैं तिहार लगायतका चाडपर्वका बेला भिडभाड नगरी सांकेतिक रुपमा सकेसम्म घरभित्रैै परिवारका व्यक्तिहरुमात्र सामेल भई मनाउन आग्रह गरिएको छ ।

यस्तै यात्रा गर्दा आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट काटि यात्रा गर्न तथा सवारी साधनको छतमा यात्रा नगर्न नगराउन आदेश दिइएको छ ।

बैठक, गोष्ठी, सेमीनार भचुअल माध्यमबाट गर्न, भौतिक उपस्थितिमा गर्नै पर्ने भएमा स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न सुझाव दिइएको छ ।

कोरोना संक्रमणको जोखिम रहेकाले अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो ।

  • १४ आश्विन २०७८, बिहीबार १३:२८ प्रकाशित