पोखरा ।
एभेरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले पहिलो जित निकालेको छ ।
आज भएको खेलमा पोखराले ललितपुर प्याट्रियट्समाथि ९ विकेटको जित निकालेको हो । जितसंगै पोखरा लिगको शिर्षस्थानमा उक्लिएको छ । पोखराको जितमा रिचार्ड लेभिले उत्कृष्ट प्रदर्शन गरे । लेभिले अभिजित ३८ रन बनाएपछि पोखराले जितसंगै अंकतालिकामा महत्वपूर्ण २ अंक जोड्न सफल भयो ।
अन्तिम ओभरमा जितका लागि ११ रनको आवश्यक रहँदा लेभिले पवन सर्राफको पहिलो बलमै छक्का प्रहार गरे । अर्को बलमा चौका प्रहार गरेका लेभिले तेश्रो बलमापनि चौका प्रहार गर्दै टिमलाई जित दिलाएका हुन् । वर्षातका कारण प्रभावित खेल मात्रै ७ ओभरमा झारिएको थियो ।
टस जितेर राइनोजले बलिङ्ग रोजेपछि व्याटिङ्गका लागि मैदान उत्रिएको ललितपुरले ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन मात्रै बनाउन सकेको थियो । ललितपुरको तर्फबाट सन्दुन विराकोटीले १९, नारायण जोशिले ११ तथा ओसादा फर्नाण्डोले अभिजित १० रन बनाए ।
पोखराका बलरहरु नन्दन यादवले ३, विक्रम शोवले २ तथा केसरिक विलियम्सले १ विकेट लिए । पोखराका लागि युवा खेलाडी रित गौतमले १२ रन बनाए । गौतम अजमत्उल्लाह ओमारजाइको बलमा बोल्ड हुन पुगेका थिए ।
जितसँगै पोखरा ३ अंक सहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । यसअघि आइतबार भैरहवा ग्लाडियटर्ससँग भएको खेल वर्षाका पुरा हुन नपाएपछि दुवै टोलीले समान १–१ अंक बाँडेका थिए ।