दशैं आएसँगै नाकामा तस्करी : एकैदिन ८५ लाखको सामान नियन्त्रणमा

केन्द्रभाग मिडिया

वीरगञ्ज।

बडादशैं नजिकिएसगै चोरी डकैती, लुटपाट, छली, तस्करीका घटना बढ्न थालेको छ । विशेषगरी नेपाल–भारत नाकामा भन्सार छल्ने र तस्करी गर्ने जस्ता क्रियाकलाप बढ्न थालेको हो ।

वीरगञ्ज भएर भन्सार छल्दै सामान ल्याउने गिरोह सक्रिय भएसँगै पर्सा प्रहरीले गएराति एकै दिन ४७ लाखको अवैध सामानसहित ८५ लाख मूल्य बराबरको तस्करीको सामान र दुई सवारी साधन नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगंजबाट नेपालगंजको लागि छुटेको ना२ख ००२५ नम्बरको ट्रकलाई गण्डक चोकमा रोकेर चेकजाँच गर्दा लोड भएको सामानको बिलबिजक नभेटिएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त ट्रकबाट करिब ३५ लाख मूल्य बराबरको मेडिकल, किरानालगायत मालसमान बरामद गरेको हो।

ट्रकमा लोड भएको सामानको बिल नदेखाएपछि ट्रक चालक हेटौंडाका नवीनकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर थप आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धन कार्यालय पथलैयामा बुझाइएको छ।

त्यसैगरी, गएराती वीरगंज–२४ रामगढवा भएर तिलावे पुलतर्फ गइरहेको प्रदेश नं २ –०३–००१–थ०००१ नम्बरको ट्रयाक्टरबाट अवैध सामान बरामद गरिएको बताइएको छ।

अवैधरूपमा ४६ बोरा सुपारी, १० बोरा छोकडा, ७ बोरा केराउ र ५ बोरा मरिच ल्याउने ट्रक चालक पर्सा, धोबिनीका आलिम अन्सारीलाई पक्राउ पनि गरिएको छ।

८ लाखको ट्रयाक्टर र १२ लाखको अवैध सामान र पक्राउ परेका चालकलाई पनि आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रहरीले जनाएको छ।

  • १२ आश्विन २०७८, मंगलवार १६:१९ प्रकाशित