पोखराका दुई बसपार्कमा यात्रु सहायता कक्ष

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पोखराका बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

नजिकिएको बडा दशैं, दीपावलीलगायतका चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोगका लागि पोखराका दुई स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको हो

ट्राफिक प्रहरीेले हिजो सोमबारदेखि पोखरा–९ पृथ्वीचोकस्थित बसपार्क र पोखरा–२ स्थित बागलुङ बसपार्कमा सहायता कक्ष सञ्चालनमा ल्याएको हो । सहायता कक्षमा एक ट्राफिक र एक जनपथ गरी दुई जना प्रहरी छन् ।

कक्षबाट यात्रु तथा सर्वसाधारणका गुनासालाई सम्बोधन गर्ने, सूचना सङ्कलन गर्ने र कोभिड–१९ का बारेमा सचेतना जगाउँदै मास्कलगायत स्वास्थ्य सामग्री वितरण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अमृत बस्नेतले बताए ।

चाडपर्वका बेला अन्य समयको तुलनामा यात्रुको चाप बढी हुने, सुरक्षा चुनौती रहने र यातायात मजदुरलगायतबाट यात्रु ठगिने सम्भावना भएकाले सोको न्यूनीकरणका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको उनले बताए ।

उनले भने,‘विशेषगरी यात्रुलाई चाडपर्वका बेला आफ्नो गन्तव्यसम्म पुग्न कुनै पनि किसिमको कठिनाइ नहोस् र सुरक्षासम्बन्धी चुनौती नआओस् भनेर सहायता कक्ष सञ्चालन गरेका हौँ ।’

चाडपर्वका बेला यातायात मजदुर तथा व्यवसायीले तोकिएभन्दा बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने तथा निर्धारित गन्तव्यमा नपु¥याई बीचबाटामै छाडिदिने, यात्रुका सामान हराउनेलगायत गुनासा यात्रुबाट आउने गरेकाले सहायता कक्षबाट समाधान गरिने प्रहरीको भनाइ छ । कक्षमा ९८५६०१८३३० नम्बरको मोबाइल फोनको व्यवस्था गरिएको छ ।

प्रहरीले विगत वर्षमा समेत दशैँदेखि छठ पर्वसम्म सहरका विभिन्न स्थानमा सहायता कक्षबाट सेवा दिने गरेको थियो । चाडपर्वलाई लक्षित गरेर जिल्लाभित्र विभिन्न १५ स्थानमा चेक प्वाइन्ट स्थापना गरिएको बस्नेतले जानकारी दिए ।

पोखरा बसपार्कबाट पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म दिवा तथा रात्रि सेवाका बस सञ्चालन हुने गरेको छ । बाग्लुङ बसपार्कबाट साविकको धवलागिरि अञ्चलका पर्वत, म्याग्दी, बाग्लुङलगायतका जिल्लासहित ग्रामीण र छोटो दूरीमा बस सञ्चालन हुने गरेको छ ।

  • १२ आश्विन २०७८, मंगलवार १३:२१ प्रकाशित