पर्वतको दोबिल्ला–फलेवास सडक बन्द, वैकल्पिक सडक नहुँदा स्थानीयलाई समस्या

केन्द्रभाग मिडिया

पर्वत ।

पर्वतको दोबिल्ला– फलेवास सडक बन्द भएको छ ।

दोबिल्ला–फलेवास सडकखण्डअन्तर्गत घोइनाउलामा ढलान गर्न आइतबारदेखि सवारी साधन चल्न रोक लगाइएको हो। घोइनाउलामा सडक रोकिँदा देशका विभिन्न स्थानबाट फलेवास हुँदै दक्षिणी क्षेत्रतर्फ जाने सवारी साधन समस्यामा परेका छन्।

वैकल्पिक सडकको व्यवस्था नभइकन सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएपछि पर्वतको दक्षिणी क्षेत्रका बासिन्दा मारमा परेका छन्

वैकल्पिक सडकका रूपमा रहेको मुडिकुवा मोदीबेनी कुश्मा सडक पहिराले अवरूद्ध छ।अन्य कुनै वैकल्पिक सडक नहुँदा फलेवास हुँदै कुश्मा, पोखरा, काठमाडौं, चितवनलगायत ठाउँमा जाने आउने सवारी साधन चल्न सकेका छैनन्।

त्यस्तै, दूध तथा तरकारी ढुवानीमा समेत समस्या भएको कृषकको गुनासो छ।कुश्मासम्म आउने जीपले यात्रुलाई सिर्सुवाको पुलमा ल्याएर छाड्ने र गाउँतर्फ जाने यात्रु त्यहीँबाट जीप चढाएर गाउँसम्म जाने गरेका छन्। मुडिकुवाबाट पुलसम्म आउने सडक साँघुरो हुँदा जीप, भ्यानबाहेक ठूला सवारी साधन गुड्न सक्दैनन्।

फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले वैकल्पिक सडकका रूपमा साइकलचोक–तातोपानी–रुग्दी–चुरी–चितिपानी हुँदै फलेवास जाने सडकलाई प्रयोग गर्न भनिएको बताए।

उक्त सडक निकै घुमाउरो भएकाले प्रभावकारी नदेखिएको सवारी चालकले बताएका छन्। घोइनाउलाको सडकको ढलान गर्न असोज १६ गतेसम्म सवारी आवागमनमा रोक लगाइएको हो।

  • १२ आश्विन २०७८, मंगलवार १३:०३ प्रकाशित