मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

माओवादी केन्द्रले मन्त्रिपरिषद विस्तामा सहयोग गर्ने भएको छ ।

सत्ता साझेदार माओवादी केन्द्रले सरकार विस्तारमा देखिएको सबैखालका अप्ठ्यारा हटाएर तत्काल प्रक्रिया सुरु गर्नुपर्ने बताएको छ । यसका लागि माओवादीले गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सोमवार बसेको स्थायी कमिटीको बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानुनी जटिलतालाई चाँडो समाधान गरेर अगाडि बढ्न गठबन्धनमा संलग्न दलसँग परामर्श गर्ने निर्णय गरेको हो ।

आजको बैठकमा सरकार विस्तारका लागि कानुनी जटिलता, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दालगायत विषयमा छलफल भएको बताइएको छ ।

यस्तै बैठकमा पार्टीको आउँदो राष्ट्रिय सम्मेलन र त्यसअघि सम्पन्न गर्नुपर्ने टोल तथा वडा भेलाका बारेमा पनि छलफल भएको जनाइएको छ । बैठकले पार्टी सदस्यताको नवीकरण असोज मसान्तसम्म गर्ने नयाँ कार्यतालिका तय गरिएको छ ।

यस्तै टोल भेला आउँदो कात्तिक ६ गतेसम्म गर्ने, कात्तिक १३ गते वडा सम्मेलन र आउँदो मङ्सिर ४ गते पालिका सम्मेलन गर्ने गरी कार्यतालिका तय गरिएको छ ।

  • ११ आश्विन २०७८, सोमबार १५:३० प्रकाशित