आज पर्यटन दिवस, भौतिक उपस्थितिमै देशभर कार्यक्रम आयोजना

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज ४२ औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

दुई वर्ष ठप्प बनेको पर्यटन क्षेत्रमा सरकारले लकडाउन खोलेसँगै उत्साह थपिएको छ । पर्यटन दिवसको अवसरमा नेपालका पर्यटकीय सहरहरुमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । स्वास्थ्य मापदण्डको पालना सहित भौतिक उपस्थितिमै सहभागी भएर आज दिवस मनाउन लागिएको छ ।

दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

दिवस मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ । पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरका अनुसार बोर्डको हलमा औपचारिक समारोह हुँदैछ ।

दिवसकै अवसरमा नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले रक्तदान कार्यक्रम गर्दैछ । नक्सालमा रहेका संस्थाको सचिवालय परिसरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान हुँदैछ ।

यस्तै यता पोखरामा आज मिनी स्ट्रिट फेस्टिवलको आयोजना गरिएको छ । आज साँझ ५ बजेदेखि राती १० बजे सम्म हुने महोत्सव बाराहीचोकदेखि खहरेसम्म सञ्चालन हुनेछ । लेकसाइडका रेष्टुरेन्टले आज सडकबाट खानाका परिकार खुवाउनेछन् ।

सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराएसँगै पर्यटन क्षेत्रमा उत्साह छाएको छ । सीमा नाका खोल्ने र क्वरेण्टीनको व्यवस्था पनि हटाउने व्यवस्था मिलाएको छ । यसले महामारीबाट थलिएको पर्यटन क्षेत्र चलायमान हुने वातावरण बनेको छ ।

  • ११ आश्विन २०७८, सोमबार ०८:५२ प्रकाशित