आजदेखि खुल्यो प्रसिद्ध मन्दिर मुक्तिनाथ, खोप लगाएकाले सहज प्रवेश पाउने

केन्द्रभाग मिडिया

म्याग्दी ।

मुस्ताङस्थित पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला भएको छ । मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा खुलाइएको जानकारी दिए ।

‘स्वदेशीका लागि पिसिआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकोमध्ये कुनै एक प्रमाणको आधारमा मुक्तिनाथमा प्रवेश दिने निर्णय भएको छ’, उनले भने, ‘विदेशीका लागि ७ दिनभित्रको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।’

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो । मन्दिर गत वैशाख महिनादेखि बन्द गरिइएको थियो ।

बैठकले कोरोना परीक्षण गरेको पिसीआर रिपोर्ट वा एन्टिजेन रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न पाउने व्यवस्था गरेको छ । पिसीआर गरेको सात दिन र एन्टिजेन गरेको ७२ घण्टाभित्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न दिइने निर्णय गरिएको छ ।

कोरोना खोप लगाएका व्यक्तिले सहज प्रवेश पाउनेछन् ।

निषेधाज्ञा र मुक्तिनाथ खुलेसँगै निषेधाज्ञाले थला परेको मुस्ताङका होटल र पर्यटन व्यवसाय चलायमान, जनजीवन सहज र विकास निर्माणले गति लिने अपेक्षा गरिएको छ । मुक्तिनाथ र पर्यटकीयस्थल खुलाएपछि सडक र हवाईमार्ग भएर मुस्ताङ जानेहरुको चहलपहल बढेको छ । कोरानाका कारण मुक्तिनाथ मन्दिर नजिकैको रानीपौवाका सातसहित मुस्ताङमा १५ जनाले ज्यान गुमाएका छन् ।

समुद्री सतहदेखि ३ हजार ७ सय १० मिटरको उचाइमा रहेको मुक्तिनाथलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मानिन्छ । शालिग्राम भगवानका लागि प्रसिद्ध मुक्तिनाथ दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास छ । १ सय ८ धारामा स्नान र मुक्तिनाथ मन्दिरमा पूजाआजा तथा दर्शन गर्ने चलन छ ।

  • १० आश्विन २०७८, आईतवार १०:०६ प्रकाशित