नेकपा (एस)का अध्यक्ष नेपाल र गण्डकीका मुख्यमन्त्री पोखरेल बीच भेटवार्ता

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बीच भेटवार्ता भएको छ । आइतबार विहान माधव नेपाल बसेको होटल बाराहीमा अध्यक्ष नेपाल र मुख्यमन्त्री पोखरेल बीच भेट भएको हो ।

भेटघाटका अबसरमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा भइरहेका विकास निर्माण र दलहरु बीचको सहकार्यको बारेमा अध्यक्ष नेपाललाई जानकारी गराए थिए । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अब छिट्टै केन्द्रमा शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि पूर्णता पाउने र पाँच दलीय गठबन्धनले प्रदेश १ र बागमती प्रदेशमा समेत नयाँ सरकार गठनका लागि गृहकार्य गरेको जानकारी दिए ।

नागरिकले प्रदेश सरकारहरु बाट धेरै अपेक्षा राखेको भन्दै जनहितलाई ध्यानमा राखेर दलहरु बीच सहकार्य गर्दै काम गर्न मुख्यमन्त्री पोखरेललाई अध्यक्ष नेपालले आग्रह गरे । ‘जनताले प्रदेश सरकारसंग धेरै अपेक्षा गरेका छन् । उनीहरुको हितलाई ध्यान दिँदै अन्य दलहरुलाई समेत साथमा लिएर काम गर्नुस्’ उनले भने ।

अध्यक्ष नेपालले प्रदेश सरकारलाई सहज हुनेढंगले केन्द्र सरकारले कानून बनाउने र अधिकारलाई बाँडफाँड गर्ने सवालमा आफूले पनि भूमिका खेल्ने बताएका भेटवार्तामा सहभागी भएका नेकपा (एस)का केन्द्रीय सदस्य चुडामणी जंगलीले केन्द्रखबरलाई जानकारी दिए ।

‘उहाँहरु बीच लामै र अर्थपूर्ण भेटघाट भयो । मुख्यमन्त्रीले यहाँका अवस्थाको बारेमा जानकारी दिनुभयो । हाम्रो अध्यक्षले केन्द्रमा गठबन्धन सरकारलाई गति दिने र प्रदेशका अधिकारलाई स्थापित गर्ने कुरामा म आफैले पनि पहल गर्छु भन्नुभयो’ उनले भने ।

  • ३ आश्विन २०७८, आईतवार १२:०१ प्रकाशित