बिचार र कार्यसैलीका बारेमा बहस गर्न नपाईने पार्टी कम्युनिष्ट हुँदैन : नेपाल

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बिचार, सिद्धान्त र कार्यसैलीका बारेमा बहस गर्न नपाईने पार्टी कम्युनिष्ट पार्टी हुन नसक्ने बताएका छन् । शनिबार साँझ पोखरामा आफ्नो पार्टीका अगुवा नेता कायकर्ताहरुसंगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेकपा एमालेमा विचार, सिद्धान्त र नेताको कार्यसैलीको विषयमा बहस गर्न नै निशेध भएपछि विद्रोह गरेर नेकपा एकीकृत समाजवादी निर्माण गरिएको उनले बताए । ‘पार्टी विधि, नीति, शिद्धान्तले चल्ने, त्यस भित्र कार्यशैलीको विषयमा छलफल हुने र सच्चिने काम हुँदैन । पार्टीको नीति विपरित नेतृत्व चल्दा केही गर्न नसक्ने अवस्था हुन्छ भने त्यस्तो बेला विद्रोह गर्नुको विकल्प हुन्न । हामीले त्यही गरेका हौं,’ उनले भने ।

विगतमा केशरजंग राजयमाझीले पार्टी विधि, सिद्धान्त विपरित काम गर्दै पार्टीलाई दरबारमा सुम्पेपछि पुष्पलालले समेत विद्रोह गर्नुपरेको स्मरण गर्दै अहिलेको परिस्थिति पनि त्यस्तै रहेको उनले विश्लेषण सुनाए । एमालेका अध्यक्ष केपी शर्मा ओलीको अप्ठ्यारोमा परेका बेला फकाउन सक्ने खुवी रहेपनि आफू र आफ्नो विरोध गर्नेहरुलाई पाखा लगाएरै छोड्ने प्रवृत्ति रहेको उनले सुनाए ।

एमालेमा पछिल्लो १० बुँदे सहमति ग¥यौं र पार्टी एकताको आधार बन्यो भन्ने दोस्रो पुस्ताका नेतालाई आफूले केही भन्नै नपरेको उनले सुनाए । एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति के रहेछ भन्ने कुरा आफै बताइदिएकाले आफूले यस विषयमा बोल्न नपरेको उनको भनाई थियो ।

पछिल्ला दिनमा ओलीले पोखरामा आएर बोलेको, बागमती प्रदेशको इन्चार्ज, प्रदेश १को इन्चार्ज, बुटवलमा नेता घनश्याम भुषाललाई गरिएको व्यवहार लगायतका क्रियाकलापले १० बुँदे सहमति के थियो र के भइरहेको छ भन्ने विषयमा अध्यक्ष ओलीले नै प्रष्ट्याएकाले अब केही भ्रम नरहेको उनले सुनाए ।

‘तपाईले देखिरहनु भएकै छ १० बुँदे सहमतिले आधार तयार भयो भन्ने साथीहरुको अवस्था, मैले यस विषयमा बताउनै नपर्ने भयो । यहीँ पोखरामा, केन्द्रमा अष्ट कम्रेडसंग, सुदूर पश्चिममा रावल कम्रेडसंग प्रदेश एकमा भिम आचार्यलाई र बुटवलमा घनश्याम कम्रेडसंग ओलीले देखाउनु भएको व्यवहारबाट  प्रष्ट छ’ उनले भने ।

अध्यक्ष नेपालले भावना पवित्र लिएर र जनताको सेवालाई केन्द्रमा राखेर संगठन निर्माणमा जुट्न र राजनीति गर्न अगुवा नेता कार्यकर्तालाई निर्देशन दिए ।

 

  • २ आश्विन २०७८, शनिबार २१:२२ प्रकाशित