सहमति गरेर संसद् चलाउनुपर्छः एमाले नेता ज्ञवाली

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीतिक गतिरोधको निकास खोज्ने जिम्मेवारी सत्तापक्ष र प्रतिपक्ष दुवैको भएको बताएका छन् । दुवै पक्षले द्वन्द्व छाडेर सहमतिसाथ अघि बढ्नुपर्ने उनको भनाइ छ ।

नेता ज्ञवालीले भने, ‘सधैंभरि द्वन्द्व गरेर संसद् चल्दैन । संसद् कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा संविधान, कानुन र नियमावली छ । अब सहमति कायम गरेर अघि बढ्नुपर्छ । यसमा सत्तापक्षले पहल गर्नुपर्छ । सभामुखले समन्वय गर्नुपर्छ । सत्तापक्ष र प्रतिपक्ष दुवै जिम्मेवार हुनुपर्छ ।’

नेता ज्ञवालीले आफूहरु माधव नेपालले आह्वान गर्दैमा अर्को पार्टीमा नजाने दृढता व्यक्त गरे । उनले भने, ‘पार्टीभित्र १० बुँदे सहमति धेरै ठाउँमा कार्यान्वयन भइसकेको छ, केही ठाउँमा समस्या छन् ।

भोलिको स्थायी समिति बैठकमा यसबारे छलफल हन्छ । सानातिना विवादमा हामीले एमाले छाडेर जाने कुनै सम्भावना छैन । हामीले साथीहरुलाई फर्केर आउनोस् भनेका छौं, उहाँहरुले पनि यतै आउनुस् भन्नुभएको छ । राजनीतिमा यो स्वाभाविक हो ।’ उनले सबै ठाउँका साथीहरु अर्को पार्टीमा गए पनि एमाले कमजोर नभएको बताए ।

सत्तापक्षले एमसीसी टेबल गरेपछि पार्टीभित्र यसबारे गहन छलफल हुने बताए । उनले भने, ‘एमसीसी मुख्यतः सत्तापक्षको जिम्मेवारी हो, संसद्मा टेबल भइसकेपछि एमालेले जिम्मेवारीपूर्वक सोच्छ ।’

  • २ आश्विन २०७८, शनिबार १३:०३ प्रकाशित