पोखराः पार्दी विरौटामा भोलिदेखि सुपथ मुल्य पसल, चामलमा प्रत्तिकिलो ५ रुपैयाँ छुट

केन्द्रभाग मिडिया

पोखरा ।

चाडपर्वको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड पोखराले सुपथ मुल्यमा खाद्य सामाग्री बेच्ने भएको छ ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मुल्य पसल सञ्चालन गर्ने भएसँगै पोखरा शाखाले पनि सुपथ मुल्य पसल सञ्चालन गर्ने भएको हो । पोखरामा पार्दी विरौटा चोकमा मात्र सो पसल सञ्चालन गरिने भएको लिमिटेडले जनाएको छ ।

यसपाली सोना स्टिम चामल, अरुवा सोना चामल, मोटा चामल, अरुवा मोटा चामल र गहुँमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने निमित्त प्रादेशिक प्रमुख नरनाथ अधिकारीले केन्द्रखबरसँग बताए । बासमती जिरा चामलको पनि छिट्टै व्यवस्था गरिने अधिकारीले बताए ।

अधिकारीको अनुसार पोखरामा कर्मचारी संख्या कम हुदाँ एक ठाउँमा मात्र पसल सञ्चालन गर्न लागिएको हो । उनले भने,‘पोखरामा अहिले कर्मचारी दुई जना मात्र हुनुहुन्छ, त्यसैले पनि छुट्टाछुट्टै ठाउँमा पसल खोल्न सकेनौँ । यसअघिका साल पनि त्यही एक ठाउँबास सेवा दिएका थियौँ, ग्राहकको सुविधालाई ध्यानमा राखेर आगामी वर्ष पोखराका अन्य मुख्य चोकहरुमा सुपथ पसल सञ्चालन गर्ने योजनामा छौँ ।’

केन्द्रमा पनि कर्मचारी नहुँदा प्रादेशिक तहमा कर्मचारी कम भएको उनले बताए । यस्तै पोखराबाट खाद्य सामाग्री निकै कम बिक्री हुने गरेको उनको भनाइ छ । कृषकलाई उत्थान गर्नेगरि आफूहरुले किन्नुपर्दा खरिद मुल्य नै बढी पर्ने र बजार मुल्य भन्दा केही थोरै मात्र छुट हुदाँ खाद्य सामाग्री बिक्री हुन नसकेको उनले बताए ।

‘हाम्रो खाद्य सामाग्रीको खरिद मुल्य बढी छ , अन्य पसलले सामान घरमै पुर्याइदिने गर्छन्, तर सरकारले प्रादेशिक कार्यालयमा होम डेलिभरीका लागि एउटा गाडीको व्यवस्था पनि गरेको छैन, त्यसैले पनि सामग्री बिक्रिमा कमी आएको छ, उनले गुनासो गरे । ’

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भोलिदेखि देशका ३९ जिल्लाका ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्दैछ।

सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।

  • ३१ भाद्र २०७८, बिहीबार ०९:३२ प्रकाशित