कास्की : अब स्वास्थ्य मापदण्ड अपनाई मध्यरात १ः३० बजे सम्म नाँचघर, क्लब, डान्सबार दोहोरी साँझ खोल्न पाइने

केन्द्रभाग मिडिया

पोखरा ।

कोरोना संक्रमण जोखिमका कारण नाँचघर, क्लब, डान्सबार दोहोरी साँझ जस्ता रात्रीकालीन व्यवसायमा लगाइएको प्रतिबन्ध हटेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको कोभिड–१९ व्यवस्थापन समिति (डिसीएमसी)को आज बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार निर्धारित स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरुको अनिवार्य पालनासहित रात्रीकालीन व्यवसाय राति १ः३० बजे सम्म सञ्चालन गर्न पाउनेछन् ।

कोरोना संक्रमदर दर र मृत्युदर कम भएसँगै पोखराका व्यवसायीले रात्रीकालीन व्यवसाय सञ्चालन हनुपर्नेमा जोड दिदैँ आएका थिए ।

प्रतिबन्धित व्यवसाय, विद्यालय लगायतका क्षेत्र सञ्चालनका लागि अनुमति दिएसँगै कास्कीमा निषेधाज्ञा खुलेको छ । यद्यपि मठमन्दिर, चर्च र मस्जिद लगायतका क्षेत्रका बारे बैठकले केही उल्लेख गरेको छैन ।

होटल तथा रेष्टुरेन्टहरु साँझ ११ः३० बजे सम्म सञ्चालन गर्न सकिने बताइएको छ ।संक्रमण बढ्दै गएमा जुनसुकै समयमा पनि थप आदेश जारी गर्न सक्ने उल्लेख गरिएको छ ।

  • ३० भाद्र २०७८, बुधबार १९:२४ प्रकाशित