किरणको नम्बर सुरेन्द्रको मोवाईलमा ब्लक !

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको लेकसाईडमा रहेको माउण्ट कैलाश रिसोर्टमा बुधबार विहान प्रेस चौतारी कास्कीले एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेसंग पत्रकार भेटघाट कार्यक्रम राख्यो । गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा, इन्द्रलाल सापकोटा र राजिव पहारीसहित मञ्चमा रहेका पाण्डेले पत्रकारसंगको सवाल जवाफका लागि लामै समय दिए ।

निर्धारित समयभन्दा केही ढिला सुरु भएको पत्रकार भेटघाट कार्यक्रममा नेता पाण्डेले प्रफुल्लित भएर कुरा गरिरहेका थिए । जव कार्यक्रम सकेर पाण्डे बाहिर निस्के तव हस्याङ फस्याङ गर्दै आएका अर्का स्थायी समिति सदस्य किरण गुरुङले ‘तपाईको मोवाईल पुरानै होइन र ? किन मेरो मोवाइल नम्बर ब्लक गर्नुभएको’ भन्दै प्रश्न गरे ।

किरणले मोवाइलमा सुरेन्द्रको नम्बर डायल गरे अनि सुनाउँदै ‘यो केहो’ भनेर देखाए । अनि भने, ‘मैले लामो समय भयो तपाईको मोवाइलमा सम्पर्क गर्न खोजेको । तपाईले मेरो मोवाईल ब्लक गर्ने ?’ अनि पाण्डे अक्मकिँदै भने, ‘मैले कसैको नम्बर लक गर्ने गरेको छैन । कसरी अठिए होला ।’ त्यसो भन्दा नभन्दै एमाले कास्कीका अध्यक्ष समेत रहेका सांसद कृष्ण थापाले व्यांग्य गरे, ‘कम्रेड अब दुई जेठमा फर्केपछि पनि नम्बर लक गरिरहनु भएन, खोलिदिनुस् ।’

आगडि रहेका एक कार्यकताले सुरेन्द्रको नम्बर मागेर हेरे ।  साच्चै किरण गुरुङको नम्बर लक भएकै रहेछ । उनले लक खोलेर गुरुङलाई नम्बर डायल गर्न लगाए । अनि बल्ल सुरेन्द्रको मोवाईलमा किरण गुरुङको घण्टी बज्यो । साइडमा रहेका नेता कार्यकर्ताले व्यांग्य गरिरहे ।

स्थायी समिति सदस्य पाण्डे एमाले विभाजन अगाडि हाल पार्टी छोडेर गएका माधव नेपालका सारथी थिए । हाल उनी एमालेमै छन् । अर्का स्थायी समिति सदस्य गुरुङ प्रधानमन्त्री केपी शर्मा ओली निकटका मानिन्छन् ।

एमालेमै रहेका माधव पक्षिय नेताहरु र विगतमा ओलीको संसद विघटन लगायतका कदमको पक्षमा रहेका एमाले नेताहरुमा पछिल्ला दिनहरुमा यस्तै कटाक्ष चलिरहेकै छ ।

  • २४ भाद्र २०७८, बिहीबार १५:२२ प्रकाशित