कास्कीका ग्रामीण सडकमा आजदेखि रातिमा गाडी चलाउन रोक

तोकिएको समयमा सवारी चलाउन र यात्रा गर्न आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले ग्रामीण सडकहरूमा आजदेखि रातिको समयमा सवारी चलाउन रोक लगाएको छ । ।

मनसुन सक्रिय हुन लागेसँगै बाढी र पहिरोको जोखिम बढ्ने भएपछि जिल्ला प्रशासनले सवारी साधन सञ्चालनका लागि समय निर्धारण गर्दै सो निर्देशन दिएको हो । आज बुधबारदेखि लागू हुने गरी १५ दिनसम्मको समय रातिमा सवारी नचलाउन निर्देशन दिइएको छ ।

असार २३ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । बर्सातको समयमा हुन सक्ने सम्भावित क्षतिबाट यात्रु तथा सवारी साधनलाई जोगाउन यस्तो निर्णय बुधबार जारी सूचनामा उल्लेख छ ।

अब अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरूले तोकिएको समयमा मात्र यात्रा गर्न पाउनेछन् । बैठकले विरेठाँटीबाट घान्द्रुक, विरेठाँटीबाट उल्लेरी र लुम्लेबाट लान्द्रुक जाने सवारी साधनहरू साँझ ५ बजेभित्र छुटिसक्नुपर्नेछ । उता घान्द्रुक, उल्लेरी र लान्द्रुकबाट विरेठाँटी र लुम्लेतर्फ आउने सवारी साधनहरूले भने बिहान ५ बजेपछि मात्र यात्रा गर्न पाउनेछन् ।

यस्तै, काहुँखोलाबाट ताङ्तिङ जाने सवारी साधनहरूले साँझ साढे ४ बजेभित्र प्रस्थान विन्दु छाडिसक्नुपर्नेछ । ताङ्तिङबाट काहुँखोला फर्कने सवारी साधनहरूले बिहान ५ बजेपछि मात्र चल्न पाउनेछन् । सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनामा सबैलाई तोकिएको समय(तालिका पालना गर्न आग्रह गरिएको छ ।

  • २५ असार २०८२, बुधबार १३:४७ प्रकाशित