काठमाडौँ ।
गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि काठमाडौँ, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी हालतमा राखिएको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित विपद् व्यवस्थापनमा पत्रकारको भूमिका विषय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले मुलुकका तीन स्थानका साथै अन्य ठाउँहरूमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी हालतमा राख्ने तयारी भइरहेको बताए ।
‘आवश्यकता अनुसार हेलिकप्टर एसोसिएसनसँग हेलिकोप्टर तयारी हालतमा राख्ने विषयमा समन्वय भएको छ’, गृहमन्त्री लेखकले भने, ‘सीमित स्रोत साधनका बिच विपद् प्रतिकाय एवं न्यूनीकरण गर्न सरकार पहलरत छ ।’
उनले प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायी लगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्ने मन्त्री लेखकको जोड छ ।
विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन गर्ने कार्यमा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै उनले भने, ‘हामी विपद्को जोखिम भएको भूगोलमा छौँ ।’ उहाँले सातै वटै प्रदेशमा रहेको आपत्कालीन गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको पनि बताए ।














