बागलुङ नगरभित्र स्ट्रिट नम्बर राख्ने योजना १० महिनादेखि अधुरै

केन्द्रभाग मिडिया

बागलुङ ।

बागलुङ बजारलाई पर्यटकमैत्री बनाउन थालिएको योजना अलपत्र परेको छ । नगरभित्र गल्ली ‘स्ट्रिट’ नम्बर राख्ने योजना १० महिनादेखि अधुरै रहेको छ ।

नामकरणको पर्खाइमा रहेका पोलहरू कतै सडक विस्तार तथा संरक्षणको अभावमा क्षति भएपछि नगरपालिकाले काम सम्पन्नतामा चासो नदिएको हो ।

नगरपालिकाले स्ट्रिट नम्बरको नाममा पोल निर्माण र गाड्ने काममा तीन लाख १८ हजार भुक्तानी भइसकेको छ भने स्ट्रिट नम्बर राख्ने विषयमा नगरपालिका एक वर्षदेखि अन्योलमै रहेको छ ।

बागलुङ बजारलाई पर्यटनमैत्री बनाउन बागलुङ नगरपालिकाले पहिलोपटक साउनमै स्ट्रिट नम्बरका पोल गाड्न थालिएको थियो । नगरपालिकाले स्ट्रिट नम्बरको नाममा एक सय स्थानमा गाडेका पोलहरू प्रयोगविहिन भएका छन् । प्राविधिक रूपमा अध्ययन नगरी पोल गाड्दा नगरपालिकालाई पोलले गिज्याइरहेको मात्रै छैन आर्थिक क्षति समेत भएको छ । विशेषगरी पर्यटकहरुलाई गन्तव्य पहिल्याउन सहजताका लागि बागलुङ बजारका एक सय स्थानमा स्ट्रिट नम्बर राख्न थालिएको थियो ।

बागलुङ नगरपालिकाले नगर पर्यटन विकास समितिमार्फत बागलुङ बजारका चोक तथा गल्लीमा स्ट्रिट नम्बर राख्न थालेपनि १० महिना बित्दा समेत नम्बर राख्न नसकिएको हो ।

  • ९ असार २०८२, सोमबार १६:५६ प्रकाशित