गुल्मी।
एक तर्फी सञ्चालनमा आएको कालीगण्डकी कोरिडोर १२ घण्टा नबित्दै पुनः अवरुद्ध भएको छ ।
कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट खसेको पहिरोका कारण शुक्रबारदेखि सडक अवरुद्ध भएको थियोे ।
शुक्रबार बिहान सडक माथिबाट ठुलो ढुङगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको र आइतबार राती एकतर्फी रूपमा सञ्चालनमा आएको भए पनि सोमबार दिउँसोबाट पुनः अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिइन् ।
आइतबार राति र सोमबार बिहान ठुलो पानी परेका कारण सोही स्थानमा माथिबाट पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको उनको भनाइ छ ।
कालीगण्डकी कोरिडोर गैँडाकोट राम्दी मालढुङ्गा सडक योजना कार्यालयका प्रमुख कल्पना अधिकारीका अनुसार निरन्तर माथिबाट पहिरो खसिराखेका कारण सडक खुलाउन समस्या भएको र समय लाग्ने बताइन । आइतबार रातिबाट एकतर्फी रूपमा सडक खुलाए पनि सोमबारबाट सडक पुनः अवरुद्ध रहेको उनले बताइन्।
पहिरो पन्छाउनको लागि उक्त स्थानको नजिकै एक्साभेटर र चालक तयारी रहेको र पहिरो झर्ने क्रम रोकिएपछि सडक खुलाउन थालिने उनले बताएकी छन् ।















