पोखरा ।
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि लगाइएको आरोप पूर्वाग्रही पूर्ण रहेको दाबी गरेका छन् । आइतबार विहान पोखरामा समाजवादी प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उस्तै खालको दुई मुद्दामा एउटा नीतिगत र अर्कोमा नीतिगत नहुने कुरा पूर्वाग्रही भएको उनको जिकिर थियो । ललिता निवास जग्गा प्रकरणमा समेत फसाउने प्रयास भएको दाबी गर्दै उनले ललिता निवासको निणर्य नीतिगतमा पर्ने र पतञ्जली नपर्ने कुरा पूर्वाग्रहीपूर्ण भएको उल्लेख गरे । अहिलेसम्म मन्त्री परिषद्को नीतिगत निर्णय गर्दा अख्तियारको कार्यक्षेत्रभित्र नपर्ने उनको भनाई छ ।
उनले यसरी मन्त्री परिषद्को बैठकले गरेका सबै नीतिगत निर्णयको छानवीन गर्ने हो भने विगतका सबै प्रधानमन्त्री जेल जाने टिप्पणी गरे। ‘आशा गरौँ वाइडबडीमा पनि आइदियोस्, गिरिबन्धु टी इस्टेट, गोकर्ण सफारी पार्क, ओम्नी प्रकरणमा पनि छानबिन होस्,’ उनले भने, ‘सबै नीतिगत निर्णयको छानबिन गरे विगतका प्रधानमन्त्रीहरुको जेल जाने लर्को लाग्ने छ । सही ढंगबाट छानविन गरेर कारबाही गराउने ठाउँमा पु¥याउन सक्यौं भने हामीले विगतमा प्रधानमन्त्री, अर्थमन्त्रीहरूलाई डिल्लीबजार कारागारमा मै भेट्न पाउँछौं । पाउरोटी लिएरै जान पाइन्छ ।’
उनले मन्त्री परिषद्को नीतिगत निर्णयको विषयलाई लिएर अख्तियार विधेयक प्रतिनिधि सभाको राज्यव्यवस्था समितिमा थन्किएको बताए । समितिका सदस्य समेत रहेका पाण्डेले सत्तारुढ दलले मन्त्रीपरिषद्को नीतिगत निर्णयलाई अख्तियारले हेर्न नपाउने बनाउन विधेयकलाई समितिमा थन्काएको आरोप लगाए ।
उनले नीतिगत निर्णय अख्तियारले हेर्न पाउने हो भने ठूला ठूला गेम चेञ्चर परियोजनामा सरकारले हात हाल्न नसक्ने तर्क गरे । फरक प्रसंगमा नेता पाण्डेले भिजिट भिषा प्रकरणमा २०६४ सालदेखिका सबै गृहमन्त्री चोखो नभएको दाबी गरे । उनले भिजिट भिषा प्रकरणमा मानव तस्करी भएको आरोप समेत लगाए ।
संघीयतालाई बलियो बनाउने कानुन बन्न नसकेको जानकारी दिदै उनले निजामती प्रशासनलाई व्यवस्थित गर्न संघीय निजामती विधेयक छिटो ल्याउन पर्ने बताए । निजामती सेवाबाट अवकास पाएको २ वर्षसम्म कुनै पनि नियुक्ति (कुलिङ पिरियडमा) पाउन नहुने तर्क गरे ।
उनले प्रधानमन्त्री र मन्त्रीलाई रिझाएर नियुक्ति हुँदा विकृति बढेको चर्चा गर्दै कुलिङ पिरियड राख्न उच्च पदस्थ कर्मचारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्की दिएको र सयुक्त रुपमा राजीनामा दिने चेतावनी दिएको जानकारी दिए । यस विषयमा दरो खुट्टा टेक्न समेत प्रधानमन्त्री ओलीलाई उनले सुझाव दिएको बताए ।














