पोखरा ।
लगातारको वर्षासंगै आएको बाढी र पहिरोले पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध हुँदा त्यसको बैकल्पिक प्रयोग गर्न आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बिहीबार सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मधु नेपालले बिहीबार विहान जारी गरेको विज्ञप्तिमा राजमार्ग पूर्ण रूपमा नखुलेसम्म अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नै परे तोकिएका वैकल्पिक मार्ग अपनाउन अनुरोध गरिएको छ ।
केही दिनयताको अविरल वर्षाले विनयी खोलामा पानीको सतह बढेर डाइभर्सनमा क्षति पुगेको छ । यसैगरी, दुम्कीबास-दाउन्ने सडक खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोला जस्ता स्थानहरूमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या देखिएको छ, जसले गर्दा आवागमन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनलाई नारायणगढबाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदै बुटवल जान भनिएको छ । त्यसैगरी, काठमाडौंबाट पश्चिम जाने सवारी साधनले पनि मुग्लिङ-पोखरा-स्याङ्जा हुँदै बुटवलको बाटो प्रयोग गर्नुपर्नेछ ।
पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनले पनि सोही मार्ग, अर्थात् बुटवलबाट स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै यात्रा गर्नुपर्ने सूचनामा उल्लेख छ । साना सवारी साधनका लागि भने अवस्था हेरेर कालिगण्डकी करिडोर अन्तर्गतको गैंडाकोट-पिपलडाँडा सडकखण्ड प्रयोग गर्न सकिने विकल्प पनि दिइएको छ ।















