उदयपुरमा एकै गाउँका युवक र किशोरी मृत भेटिएका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका(४, बसाहामा बुधबार बिहान सोही ठाउँका १५ वर्षीया मञ्जु राई र २७ वर्षीय रविन्द्र राई मृत भेटिएका हुन्।
प्रहरीले घटनालाई शंकास्पद मान्दै हत्यापछि आत्महत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। उनीहरूको शव एकअर्काबाट करिब २ सय ५० मिटरको दूरीमा भेटिएका थियो।
इलाका प्रहरी कार्यालय बेलटारका प्रमुख इन्स्पेक्टर नविन राईले घटना शंकास्पद देखिएको र दुई मृत्युबीच अन्तरसम्बन्ध हुनसक्ने बताए। इन्स्पेक्टर राईको अनुसार गाउँकै विद्यालयमा कक्षा १० मा पढ्ने मञ्जु र रविन्द्रबीच प्रेम सम्बन्ध रहेको बुझिएको छ।
स्थानीयले रविन्द्रले नै मञ्जुको हत्या गरेर पछि आफूले आत्महत्या गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन्। ‘रविन्द्रले मञ्जुलाई सानैदेखि घुमाउने, डुलाउने गर्थे। पहिले बालिकालाई मारेर पछि आत्महत्या गरेको हुनसक्ने स्थानीयको अनुमान छ,’ इन्स्पेक्टर राईले भने, ‘तर, यथार्थ के हो भन्ने कुरा पोस्टमार्टम र भिसेरा रिपोर्ट आएपछि मात्रै खुल्छ।’















