पोखरामा ‘र्अवान प्लानिङ : टुल्स एन्ड टेक्निकस’ विषयक तालिम सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा ‘र्अवान प्लानिङ : टुल्स एन्ड टेक्निकस’ विषयक चार दिवसीय तालिम पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ।नगर विकास कोषको सहयोगमा तथा नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको समन्वयमा तालिम आयोजना भएको हो ।

जेठ २८ देखि ३१ गतेसम्म सञ्चालन भएको तालिममा ४० जना भन्दा बढी सहभागीहरूले प्रत्यक्ष रूपमा लाभ लिएका थिए। सहभागी सन्देश पराजुली र प्रतीक्षा पाठकले तालिम अनुभव सुनाउँदै शहरी योजना तथा बस्ती विकासका विषयमा व्यवहारिक र ज्ञानवर्धक प्रशिक्षण पाएको उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति विशाल थापा र सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका अध्यक्ष विजेन्द्र केसीले नेपाल इन्जिनियर्स एसोसिएसनले इन्जिनियरहरूको हकहितका लागि गर्दै आएको विविध क्रियाकलापबारे प्रकाश पारेका थिए ।

त्यस्तै, प्रमुख अतिथि इन्जिनियर प्रकाश केसीले सहरीकरणको सन्दर्भमा व्यवस्थित बस्ती विकास, प्रविधिको प्रभावकारी उपयोग र नीति निर्माणमा इन्जिनियरहरूको भूमिकाबारे महत्वपूर्ण विचार राखे। उनले हालै नेपाल इन्जिनियर्स एसोसिएसनले नेपाल इन्भेष्टमेन्ट बैंकसँग गरिएको बिना धितो १५ लाख रुपैयाँसम्मको ऋण सुविधा तथा मेडिसिटी अस्पतालसँग गरिएको सहकार्यबारे समेत सहभागीहरूलाई जानकारी गराए ।

कार्यक्रमका अध्यक्ष सन्तोष जिसीले गण्डकी प्रदेशमा नियमित रूपमा तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी गराउँदै आउँदो साउन ३ गते मनाइने ‘नेपाल इन्जिनियर दिवसको’अवसरमा एक हप्ते विशेष कार्यक्रम आयोजना गरिने घोषणा गरे ।

तालिमको समापन समारोह नेपाल इन्जिनियर्स एसोसिएसन केन्द्रीय समितिका उपसभापति इन्जिनियर प्रकाश केसीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष इन्जिनियर सन्तोष जिसीले अध्यक्षता गरेका थिए । भने विशेष अतिथिका रूपमा केन्द्रीय कोषाध्यक्ष सुमन थापा उपस्थित थिए।

कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूको रूपमा केन्द्रीय सदस्यहरू इन्जिनियर प्रभुराम पोखरेल, अवित केसी, एमेन्द्र गुरुङ, पूर्व गण्डकी प्रदेश अध्यक्षहरू रमेश बास्तोला र विजेन्द्र केसी, पूर्व केन्द्रीय सदस्य रविन्द्रलाल मूल, नेपाल भ्यालुएस एसोसिएसन कास्कीका सचिव हरि अधिकारी, नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशका उपसभापति इन्जिनियर विशाल थापा, प्रदेश कोषाध्यक्ष विश्वास आचार्य तथा सदस्यहरू इन्जिनियर महेन्द्र पौडेल, इन्जिनियर मनोज गिरी, इन्जिनियर संजयराज तिम्सिना, इन्जिनियर रोचक क्षेत्री, र इन्जिनियर सक्षम अधिकारीको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन इन्जिनियर निरोज लामिछानेले गरेका थिए ।

  • १ असार २०८२, आईतवार १४:३३ प्रकाशित