पोखरा ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आज प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छ । आज ४ बजे अर्थमन्त्री डा. टकराज गुरुङले संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
चालू आर्थिक वर्षको लागि ३२ अर्ब ९७ करोडको बजेट ल्याएको सरकारले आगामी वर्षका लागि ३२ अर्ब हाराहारीमा प्रस्तुत गर्न लागेको हो । यो चालू आर्थिक वर्षको भन्दा झन्डै १ अर्ब कम हो ।
सांसदलाई मन्त्रालयगत सिलिङ चौतर्फी आलोचनापछि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गरेको सरकारले यो वर्ष मन्त्रालयगत सिलिङबाटै सांसदलाई बजेट बाँड्न लागेको छ । एक सांसदका अनुसार प्रत्यक्ष र समानुपातिक सांसदलाई छुट्टाछुट्टै सिलिङमा योजना दिइएको हो ।
स्रोतका अनुसार सबैभन्दा धेरै भौतिक मन्त्रालयबाट सांसदले बजेट पाउँदै छन् । भौतिकबाट समानुपातिकले १ करोड ५० लाख र प्रत्यक्षले २ करोड ५० लाखका योजना छान्न पाउनेछन् ।
वन मन्त्रालयले ५ लाखका योजना बाँडेको छ । समानुपातिकलाई जनही ५ लाख र प्रत्यक्षलाई १० लाखको सिलिङ छुट्टाइएको मन्त्रालय निकट स्रोतले जनाएकाे छ ।
पर्यटन मन्त्रालयले समानुपातिकलाई २० लाख र प्रत्यक्ष सांसदलाई ४० लाख दिएको छ । सामाजिक मन्त्रालयले समानुपातिकलाई २५ लाख र प्रत्यक्षलाई ५० लाखको योजना दिएको छ ।














