नवलपुरमा ९० वर्षीय वृद्धले गरे कान्छी श्रीमतीको हत्या

केन्द्रभाग मिडिया

रुपन्देही ।

नवलपुरको देवचुली नगरपालिका-३ आम्बासमा ९० वर्षीय बयोवृद्धले ७६ वर्षीया वृद्धा श्रीमतीको हत्या गरेका छन् ।

९० वर्षीय दिलबहादुर थापाले गएराति पत्नी जमुना थापाको टाउकोमा रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालले जानकारी दिएका छन् । जमुना दिलबहादुरकी कान्छी पत्नी हुन् ।

दिलबहादुरले श्रीमती विभिन्न रोगले थला परेको र आफ्नो मृत्युपछि दुःख नपाओस् भनेर हत्या गरेको प्रहरीलाई बयान दिएका थिए ।

‘घरमा बुढाबुढी मात्रै रहेछन् । आँखा पनि राम्रोसँग नदेख्ने दिलबहादुरले केही समयदेखि पत्नी बिरामी भएको र आफू मरेपछि बुढीले दुःख नपाउन् भनेर हत्या गरेको बताएका छन्,’ डीएसपी नेपालले भने ।

छोरा चित्रबहादुर थापाले घटनाबारेमा प्रहरीलाई जानकारी गराएका थिए ।

अभियुक्त वृद्ध तथा अशक्त भएकाले कारबाहीबारे केहीको चासो छ । वरिष्ठ अधिवक्ता शालिकराम बनजाडेले ज्यान मारेको कसुरमा कसैलाई कारबाही नहुने भन्ने नभएको, तर वृद्धवृद्धाको हकमा ६० प्रतिशत छुट हुनसक्ने बताएका छन्।

  • ३० जेष्ठ २०८२, शुक्रबार १६:३६ प्रकाशित