संसद अवरोध खुलाउन कांग्रेस, एमाले र माओवादी सहमत : रास्वपाले छाडेन अडान

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसद अवरोध खुलाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरु सहमत भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र संसद अवरोध खुलाउन सहमत भएका हुन् ।

नेताहरुका अनुसार भिजिट भिसामा विदेश जानेसँग हुने गरेको भनिएको अपारदर्शी आर्थिक लेनदेनको विषयमाथि वृहत्तर छानबिन गर्ने सहमति भएको छ । यो विषयमा विहीबार नै प्रमुख दलहरुबीच सहमति भएको थियो । त्यसलाई आज औपचारिकता दिने तयारी भइरहेको छ ।

नेताहरूका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गर्ने अनुसन्धानलाई सघाउने र भिजिट भिसाबारे विगतदेखि देखिएका समस्याबारेमा सरकारले आवश्यक अध्ययन छानबिन गरी नीतिगत, कानुनी र संरचनागत सुधारका लागि कदम चाल्ने विषयमा सहमति जुटेको छ ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पनि ३० दिन भित्र छानबिन समिति गठन गर्ने विषयमा सहमति जुटेको बताए । ‘सरकारले ३० दिनभित्र छानबिन समिति बनाउने र हामीले अवरोध खुलाउने गरी सहमति भएको छ,’ सापकोटाले भने, ‘सम्भवतः आजै संसद चल्छ ।’

यता राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान कायम राखेको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सत्तारुढ दलहरूसँग सहमति गरेपछि रास्वपा एक्लै विरुद्धमा उभिने भएको हो ।

यसबारे पार्टीले केहीबेरमा औपचारिक निर्णय सार्वजनिक गर्दैछ । एक नेताका अनुसार, भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर मात्रै अघि बढ्ने रास्वपाको अडान छ ।

यसअघि माओवादी र समाजवादी पनि भिजिट भिसामा गृहमन्त्रीको राजीनामा माग गर्दै आएको थियो ।

तर, एमाले, कांग्रेस र माओवादीले भने दुई बुँदे सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् ।रास्वपाले उक्त अडान अहिले पनि छाडेको छैन ।

  • ३० जेष्ठ २०८२, शुक्रबार १६:०९ प्रकाशित