कास्की कांग्रेसले सार्वजनिक गर्यो पोखरा बनाउने अबधारणा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा कस्तो बनाउने भन्ने विषयमा नेपाली कांग्रेस कास्कीले आफ्नो धारणा सार्वजनिक गरेको छ । विहीबार पत्रकार घेटघाट मार्फत कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले कांग्रेसको धारणा सार्वजनिक गरेका हुन् ।

पोखराको दीर्घकालीन, समावेशी र नवप्रवर्तनमुखी विकासका लागि मौलिक पहिचानलाई जोगाउने क्रममा सांस्कृतिक डिजिटलीकरण, ज्ञान, नवप्रवर्तन र संस्कृति केन्द्रको स्थापना लगायत कार्यक्रमको अवधारणा सार्वजनिक गरिएको छ । यसले परम्परा र प्रविधि बीचको सहकार्यलाई संस्थागत गर्दै आर्थिक रूपान्तरणमा उद्योग–संस्कृतिको जोड दिने लक्ष्य लिइएको सभापति बरालले बताए ।

पोखरा कस्तो बनाउने भन्ने विषयमा कहीँ न कहीँबाट प्रयास हुनुपर्नेमा ढिलै भएपनि आफूहरुले सुरु गरेको सभापति बरालको भनाई छ । यस क्रममा विभिन्न क्षेत्रसँग छलफल गरिएको उनले बताए ।

उनका अनुसार वडा कार्यसमितिका सभापति, पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पर्यटन तथा उद्योग व्यवसायी लगायत विभिन्न क्षेत्रसँग छलफल गरी अवधारणा तयार पारिएको हो । यो अभियान नेपाली कांग्रेसको नभई समग्र पोखरेलीको भएकाले यसलाई राजनीतिभन्दा माथि उठेर बुझ्न उनले आग्रह गरे ।

पाँच सयभन्दा बढी व्यक्तिहरूको प्रत्यक्ष र परोक्ष सहभागिता रहेको छलफलले पोखराको भविष्य निर्माणमा सहकार्य, सुझाव र सहभागिताको उदाहरण प्रस्तुत गरेको सभापति बरालले दाबी गरे । शिक्षाको क्षेत्रमा कांग्रेसले ‘एक विद्यालय, एक उद्यम’ भन्ने अवधारणालाई अघि सारेको छ । यसले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप सिकाउने लक्ष्य राखेको छ । त्यस्तै ‘जीवन सीप प्रयोगशाला’ मार्फत युवाहरुलाई आत्मनिर्भर बनाउने दृष्टिकोण लिइएको छ। ‘त्रिकोण शिक्षा परियोजना’ ले शिक्षा, सीप र अवसरबीचको समन्वय कायम गर्ने उनले बताए ।

स्वास्थ्य सेवा पहुँचमा अभाव रहेका क्षेत्रलाई लक्षित गर्दै मोबाइल क्लिनिक नेटवर्कको विषय अवधारणामा उल्लेख छ । पोखरालाई स्मार्ट, हरित र सुशासित सहर बनाउन अवधारणामा स्मार्ट यातायात योजना प्रस्तुत गरेको छ । यस अन्तर्गत नो–कार जोन, इलेक्ट्रिक सवारीसाधनको प्राथमिकता, साइकल र पैदल यात्रुलाई प्रोत्साहन, तथा ट्राफिक व्यवस्थापन सुधार गर्ने प्रस्ताव गरिएको छ ।

फेवातालमा नेपाल सरकार र सर्वोच्च अदालतको आदेशले तोकेको मापदण्ड कार्यान्वयन गर्दा दीर्घकाल देखि ताल किनारमा व्यवसाय गर्दै आएका स्थानीय आधिकारिक व्यवसायिहरुको सामाजिक र आर्थिक अधिकार तर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिइएको छ । तालको आकर्षण, पारदर्शिता, सौन्दर्यता र पर्यावरणीय सन्तुलनलाई नविगार्ने गरी नियन्त्रित संरचना भित्र इको रेष्टुरेन्ट, लेक भ्यू डेस्क, ग्रीन क्याफे, सोलार बोटिङ स्टेशन जस्ता सेवाहरु पुनः डिजाइन गरेर संचालन गर्न दिने नीति अवलम्वन गर्नु सभापति बरालले बताए ।

‘गाउँ–सहर साझेदारीमा आधारित उत्पादन चक्र परियोजना’ अवधारणामा अघि सारिएको अर्को महत्वपूर्ण कार्यक्रम रहेको उनले बताए । कास्की कांग्रेसले सार्वजनिक गरेको अवधारणा अध्ययन कुनै औपचारिक रिपोर्टमा सीमित नभई कार्यान्वयनमुखी र दीर्घकालीन सोचमा आधारित रहेको उनले सुनाए ।

सहरी कृषिलाई प्रवद्र्धन गर्ने उद्देश्यले वडा स्तरमा कम्पोष्ट मल केन्द्रहरू स्थापना गरिने अवधारणा रहेको छ । यसले फोहोरको उपयोग, हरियाली सहर र पोषणीय कृषि उत्पादनलाई साथ–साथ अघि बढाउने अपेक्षा गरिएको छ ।

कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा उत्साह थप्न मेडिकल र वेलनेस टुरिजम केन्द्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, तथा पोखरा साहसिक खेल महोत्सवजस्ता कार्यक्रम प्रस्ताव गरिएको छ । यी योजनाले पोखराको अन्तर्राष्ट्रियकरण, स्थानीय रोजगारी र साहसिक पर्यटनको प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।

यो अवधारणा पोखरा महानगरपालिकालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउन सघाउने उनले विश्वास गरे । ‘कास्की पोखरा महानगरपालिकासंग सहकार्य गर्न तयार छ । तर सोच बिनाको खर्च, परामर्शविनाको निर्णय र योजना विनाको बजेटको विरुद्ध भने नेपाली कांग्रेसले सशक्त रुपमा आवाज उठाउने छ,’ उनले भने, ‘जनताको कर, जनताको विश्वास र सहरको भविश्यलाई ध्यानमा राखी नीति निर्माण गरिनु पर्दछ । लोकतन्त्रमा सहभागिता आवश्यक छ, निर्णयमा दृष्टिकोण र योजनामा भविष्य देखिनुपर्छ ।’

  • ३० जेष्ठ २०८२, शुक्रबार ०८:२१ प्रकाशित