काठमाडौं ।
नेपालमा आलु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको अवधिमा १३ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
यो अघिल्लो आवको यसै अवधिको तुलनामा १३.३ प्रतिशत धेरै हो । अघिल्लो आवमा १६.९ प्रतिशतले वृद्धि भएको थियो ।
गत वर्ष वैशाखमा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ मात्र भित्रिएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष १४.८ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकको तथ्यंक अनुसार वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो महिना हालसम्मकै विप्रेषण आप्रवाहले कीर्तिमान बनाएको हो ।
यसअघि फागुन २०८१ मा सबैभन्दा धेरै १ खर्ब ५१ अर्ब २० करोड रेमिट्यान्स भित्रिएर कीर्तिमान बनेको थियो । यो कीर्तिमान वैशाखमै तोडिएको हो ।















