संसद् अवरोध खुलाउन माओवादी तयार

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्र भिजिट भिसा छानबिनको सुनिश्चिततासहित संसद् अवरोध खुलाउन तयार भएको छ । तर, त्यस्तो छानबिन कहिले हुने यकिन छैन ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे आफूहरूले छानबिनको सुनिश्चितता खोजेको बताउँछन् । यस निम्ति छलफल चलिरहेको उनको जवाफ छ ।

सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाउने भएपछि माओवाद केन्द्र त्यसमा विश्वास गरेर प्रतिनिधि सभामा जारी अवरोध खोल्न तयार भएको छ ।

भिजिट भिसा प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजागर गरेको हो । यो विषय आए लगत्तै माओवादीले प्रतिनिधि सभामा विषय प्रवेश गराएको थियो ।

सुरुमा गृहमन्त्रीको राजीनामा नै मागेको माओवादी केन्द्र अन्ततः छानबिन हुने सुनिश्चितता भए संसद्को अवरोध खोल्न सकिने निष्कर्षमा पुगेको हो ।

माओवादी नेताहरूका अनुसार, माओवादी यस्तो निष्कर्षमा पुगेपछि कांग्रेसले मध्यमार्गी प्रस्ताव ल्याएको थियो । मध्यमार्गी प्रस्तावमा अख्तियारले हाल गरिरहेको अनुसन्धान सकिएपछि छुट्टै संयन्त्र बनाएर २०६४ सालयता भिजिट भिसाको नाममा भएको अनियमितताबारे छानबिन गर्ने भनिएको छ । यसमा माओवादी केन्द्र सहमत भएको हो ।

  • २६ जेष्ठ २०८२, सोमबार १३:५१ प्रकाशित