राइड सेयरिङ नियमावली अक्षरस कार्यान्वयन हुन्छ :मुख्यमन्त्री पाण्डे

केन्द्रभाग मिडिया

 

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू राइड सेयरिङ नियमावलीबाट कुनैपनि हालतमा पछाडि नफर्कने बताएका छन् । पत्रकार महासंघ गण्डकीले आयोजना गरेको मल्टिमिडिया रिपोर्टिङ तालिमको आइतबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उलने राइड सेयरिङ नियमावली मात्र होइन प्रदेशले बनाएका सबै ऐन कानुन दृढताका साथ कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत जनाए ।

केन्द्र सरकारको आग्रहमा नियमावली केही समयका लागि स्थगन गरिएको प्रष्टिकरण दिएका उनले यातायात क्षेत्र प्रदेशको एकल अधिकारको क्षेत्र भएको संझाएका छन् । आफ्नो नेतृत्वमा सरकार रहने बेलासम्म बनाएको कानुन फिर्ता नहुने उद्घोष गरेका उनले समस्या भए बसेर सरोकारवालासंग परिमार्जन भने गर्न सकिने सुनाए ।

उनले आफूहरूले गरेका गल्तीलाई आधार बनाएर गणतन्त्रलाई दोष नदिन पनि आग्रह गरे । ‘लोकतन्त्रमा मैले गरेको गल्ति अर्कोले आएको सच्याउन सक्छ । तर एकाधिकारवादी राजसंस्था आयो भने त्यस्तो हुँदैन । निरंकुशता आए सबैभन्दा पहिलो प्रहार हुने भनेको तपाई सञ्चारकर्मीले हो’ उनले भने ।

पत्रकारहरूको सुझावका आधारमा आमसञ्चार विधेयक ल्याइएको भन्दै उनले पत्रकारहरूको क्षमता विकासका लागि सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे । पत्रकारितामा नयाँ नयाँ चुनौती देखा परेको भन्दै त्यसको समाधानका लागि यस्ता तालिम उपयोगी बन्ने धारणा राखे ।

मुख्यमन्त्री पाण्डेले अहिले नकारात्मक धारणा धेरै बढेको भन्दै त्यसलाई बदल्नुपर्नेमा जोड दिए । विश्वमा भएका परिवर्तन र विकास नेपालमा गर्न र प्रविधि भित्र्याउन सकिन्छ भन्ने भावनाको विकास गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलको अध्यक्षामा भएको तालिम उद्घाटन सत्रमा पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष प्रकाश पौडेल, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देल र गण्डकीका महासचिव जमुना वर्षा लगायतले बोलेका थिए ।

  • २५ जेष्ठ २०८२, आईतवार २२:०५ प्रकाशित