दाङमा बस दुर्घटना : दुईको ज्यान गयो, ३४ जना घाइते

केन्द्रभाग मिडिया

दाङ ।

तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा दुईको ज्यान गएको छ भने ३४ जना घाइते भएका छन् । दुर्घटनामा दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर–अमलिया खण्डअन्तर्गत गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ४००९ नम्बरको यात्रुवाहक बस र तुलसीपुरबाट बखरियातर्फ गइरहेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा१क ८७० नम्बरको खाली बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर, १५ को मध्यम र बाँकीको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रानाले बताए । घाइते सबैको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जनाउँदै उनले बसमा सवार अधिकांश एउटै गाउँका रहेका बताए ।

  • २५ जेष्ठ २०८२, आईतवार १६:४१ प्रकाशित