सप्तरी ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा डाँका समुहले घरधनीको हत्या गरेका छन् । डाँका समुहले डकैतीपछि धारिलो हतियार प्रहार र गोली फायरिङ गरि सुरुङ्गा नगरपालिकाको वडा नम्बर ८ स्थित कान्तलाल चौधरीको हत्या गरेको सप्तरी प्रहरीले जानकारी दिएको छ ।
सप्तरी प्रहरीका अनुसार आज राति १ बजे चौधरीको घरमा अपरिचित समूह लुटपाट गर्न गएको थियो । सोही क्रममा धनमाल चोरी गर्न नदिँदा अपरिचित डाँका समूहले प्रहार गरेको धारिलो हतियार र गोली फायरिङ्गका कारण घरधनी चौधरीको ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ ।
सो क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन्। मृतक चौधरीलाई बचाउन जाँदा छिमेकी रामाकान्त चौधरी घाइते भएका हुन्।सप्तरी प्रहरीका अनुसार डकैती समूहद्वारा भएको धारिलो हतियारको प्रहार र गोली फायरिङ्गका कारण चौधरीको घटनास्थलमै ज्यान गएको हो।
डकैती समूहले घरबाट ५ तोला सुन, २ किलो चाँदी र केही नगदसमेत लुटेर लगेको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन्।
घाइते चौधरीको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हाल घटनाको थप अनुसन्धान जारी रहेको छ।















