पोखरा ।
गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात सञ्चालकले विगत चार दिनदेखि सार्वजनिक यातायात ठप्प पारेका छन् ।
यसैको मौका छोपेर ‘इन ड्राइभ’ सवारी सेवा प्रयोगका नाममा यात्रुहरु ठगिएका सार्वजनिक भएको छ । यसरी यात्रु ठग्ने ८ जना ‘इन ड्राइभ’ चालकलार्ई नियन्त्रणमा लिएर जरिवाना गराई छोडेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार राति करिब ८ बजे ‘इन ड्राइभ’ प्रयोगकर्ताबाट अत्यधिक भाडा लिएको गुनासो प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको हो। चेकजाँचका क्रममा विभिन्न स्थानहरूबाट ८ वटा सवारीसाधन सहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
यातायात व्यवस्था ऐन अनुरुप उनीहरुलाई जरिवाना गराएर छाडिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीले यस्ता कार्य दोहोरिन नदिन सवारी चालकहरूलाई सचेत रहन आग्रह गर्दै, सेवा प्रदायक कम्पनीहरूलाई पनि निगरानी तथा नियन्त्रणमा सक्रिय भूमिका खेल्न अनुरोध गरेको छ । साथै यदी कसैले पनि अस्वभाविक भाडा मागेमा जिल्ला प्रहरी कार्यालयको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गरेर जानकारी गराउन उनले आग्रह गरे ।















