हेटौंडा ।
मकवानपुरको उत्तरी क्षेत्र चित्लाङबाट सर्लाही जाँदै गरेको वीङ्गर भ्यान गाडी त्रिभुवन राजपथ सडकखण्डमा दुर्घटना भएको छ ।
आज दिउँसो भीमफेदी गाउँपालिका-९ त्रिभुवन राजपथको छैसठ्ठी मोडमा प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटना भएको गाडी सल्लाको रूखमा अड्किएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा परी भ्यानमा सवार १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको डिएसपी अर्यालले बताए । उनीहरूलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको छ ।
घटनास्थलमा रहेको प्रहरी टोलीका अनुसार भ्यान ब्रेक फेल भएर दुर्घटना भएको हो ।















