नेपाल कृषि अनुसन्धान परिषद् सुधार्न बन्यो उच्चस्तरीय समिति

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनर्संरचनाका लागि प्रा.डा.गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन गरेको छ ।

समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राडा ईश्वरी कडरिया र डा। यज्ञ गजाधर खड्का सदस्य रहेका छन् । उच्चस्तरीय समितिका पदाधिकारीहरूलाई पत्र हस्तान्तरण गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समय सापेक्ष रूपमा सुधार गर्न उच्चस्तरीय समितिले उपयुक्त प्रस्ताव पेस गर्ने अपेक्षा व्यक्त गरे ।

समितिलाई ९० दिनको कार्यवधि दिइएको छ । नार्कको हालको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक रहन नसकेको सन्दर्भमा उच्चस्तरीय सुझाव समिति गठन गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

विगतमा भएका अध्ययनहरूले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावका आधारमा मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्को हालै बसेको बैठकले स्वीकृति दिएको थियो ।

उच्चस्तरीय समितिलाई नार्कको विगतको उपलब्धि तथा चुनौती र यसअन्तर्गत ऐन, नियम ,नीतिलगायत कानुनी दस्ताबेज तथा प्रतिवेदनहरूको समीक्षा गर्ने,अन्य देशहरूमा यससम्बन्धी भए गरेका असल अभ्यासहरूको अध्ययन गर्ने, संघीयताको भावना र मर्मअनुरूप समयसापेक्ष रूपमा नार्कलाई रूपान्तरण गर्न, वैज्ञानिकहरूको दीर्घकालीन संलग्नता सुनिश्चित गर्ने रणनीति प्रस्ताव गर्नेलगायत कार्यक्षेत्र तोकिएको छ ।

  • ५ जेष्ठ २०८२, सोमबार १६:२० प्रकाशित