ट्र्याक खुलेको दुई दशकपछि बागलुङको गलकोट–ताराखोला सडक कालोपत्र

केन्द्रभाग मिडिया

बागलुङ । दुई दशक अगाडि ट्र्याक खुलेको गलकोट–ताराखोला सडक कालोपत्र गरिएको छ । गलकोट नगरपालिका–३ हटिया बजारदेखि ताराखोला गाउँपालिका–१ को सिमानासम्म साढे छ किलोमिटर सडक कालोपत्र गरिएको हो ।

बागलुङ र म्याग्दी जिल्ला जोड्ने निर्माण भएको उक्त सडक पहिलो चरणमा १० किलोमिटर गर्ने गरी आयोजना सुरु भएको थियो । स्तरोन्नतीसहित कालोपत्र गर्नका लागि विसं २०७६ कात्तिकमा सम्झौता गरी काम सुरु भए पनि हालसम्म कालोपत्र हुन सकेको थिएन । कोभिड–१९ र विभिन्न समस्या देखाएर निर्माण कम्पनीले लामो समय काम नगर्दा कालोपत्र गर्न सकिएको थिएन ।

पूर्वाधार विकास कार्यालय बागलुङले निर्माण कम्पनीलाई दुई वर्षमा सक्ने गरी जिम्मा दिएको थियो । विसं २०७८ कात्तिक मसान्तसम्म सक्नु पर्ने चार पटक म्याद थप गर्दा हालसम्म ८३ प्रतिशत काम भएका पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्र पुनले जानकारी दिए । चौथो पटक म्याद थप गरेको अवधि गत चैत मसान्तमा सकिएको भए पनि आगामी असोजसम्मका लागि थप गर्न निर्माण कम्पनीले निवेदन दिएको उनको भनाइ छ ।

बहुवर्षे ठेक्का लगाएर काम सुरु गरे पनि पर्याप्त बजेट नहुँदा यसवर्ष पनि काम सकिने सम्भावना कम भएको इन्जिनियर पुन बताउँछन् । ‘यो सडकको काम २०७८ सालमै सकिनुपर्ने हो तर विभिन्न कारणले गर्दा अहिलेसम्म सम्पन्न हुनसकेको छैन, पहिले निर्माण कम्पनीले ढिला सुस्ती गर्‍यो अहिले बजेट कम भयो, यसवर्ष त काम सकिन्छ, भन्ने थियो रु दुई करोड ५० लाख मात्रै बजेट पर्‍यो’ उनले भने,’अहिलेसम्म साढे छ किलोमिटर सडक मात्र कालोपत्र भएको छ ।’

इञ्जिनियर पुनका अनुसार अझै साढे तीन किमी सडक कालोपत्र गर्न बाँकी छ । उक्त सडक पनि ग्राभेल गरिसकेको हुँदा कालोपत्रका लागि तयारी अवस्थामा रहको उनको भनाइ छ । अहिले हटिया बजारदेखि जङ्घरासम्म कालोपत्र भएको उनले जानकारी दिए ।गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले सडक स्तरोन्नतिसँगै कालोपत्र भएपछि ताराखोला र गलकोट क्षेत्रका हजारौँ नागरिकलाई यात्रा गर्न तथा सामान ढुवानी गर्न सहज भएको बताए । रासस

  • ५ जेष्ठ २०८२, सोमबार १३:१९ प्रकाशित