तनहुँमा माइक्रो र स्कुटर ठोकिँदा दुई जनाको ज्यान गुम्यो, १४ घाइते

केन्द्रभाग मिडिया

पोखरा ।

तनहुँमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गुमेको छ । तनहुँको भानु नगरपालिका–१० स्थित नेपालडाँडामा आइतबार दिउँसो माइक्रोबस र स्कुटर एकआपसमा ठोकिँदा दुई जनाको ज्यान गुमेको र १४ जना घाइते भएका तनहुँ प्रहरीले जानकारी दिएको छ ।

डुम्रे–बेसीशहर सडकखण्डमा दिउँसो १२ बजेर १५ मिनेटमा डुम्रेबाट लम्जुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र ग २६ प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

दुर्घटनामा परी माइक्रोमा सबार मनाङ नासोँ गाउँपालिका–८ का ४० वर्षीय मन घलेको लम्जुङको नमुना सामुदायिक अस्पतालमा उपचारको क्रममा ज्यान गुमेको हो । उनी शिक्षक आन्दोलनमा सहभागी भएर घर फर्कँदै गरेका शिक्षक रहेको खुलेको छ ।

यस्तै स्कुटर पछाडि सवार लम्जुङ, बेसीशहर नगरपालिका–८ की ३२ वर्षीया अनिता थापा श्रेष्ठको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा निधन भएको सूचना डीएसपी थापाले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका १४ जनालाई डुम्रे र सिउडीबारका अस्पतालहरूमा उपचारत छन् । जसमध्ये केहीलाई अवस्था गम्भीर भएपछि चितवन रिफर गरिएको छ ।

 

  • ७ बैशाख २०८२, आईतवार १९:०४ प्रकाशित