काठमाडौं ।
सरकारले एक हजार सीसीभन्दा कम क्षमताका ट्याक्सी दर्ता नहुने मापदण्ड बनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ट्याक्सीको रूपमा सवारीसम्बन्धी राष्ट्रिय मापदण्ड लागु गर्दै अबदेखि कम्तीमा १ हजार सीसी क्षमताका ट्याक्सी मात्रै दर्ता हुने व्यवस्था गरेको छ ।
यातायात व्यवस्था विभागले तयार पारेको ट्याक्सीको नयाँ मापदण्ड मन्त्रालयले गत चैत १४ गते स्वीकृत गरिसकेको छ । सोही दिनबाटै कार्यान्वयनमा आउने मापदण्डमा उल्लेख भएको भए पनि राजपत्रमा प्रकाशित गरेपछि मात्रै कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ ।
मापदण्डमा थुप्रै नयाँ व्यवस्था गरिएकको छ । ट्याक्सी वर्गीकरण गरी विशिष्ट ट्याक्सीमा सबै सिटमा अनिवार्य सिटबेल्ट, एसी, वाईफाई इन्टरनेट, हेडरेस्ट, आमरेस्ट, कप होल्डर, अनिवार्य गरेको छ । जसको कारण ट्याक्सी प्रयोग कर्तालाई सेवासुविधाअनुसार थप महँगी पर्ने छ ।
नयाँ मापदण्डअनुसार अबदेखि इन्धनमा एक हजार सीसी र ईभीमा ४० किलोवाट क्षमताभन्दा कम पावरट्रेन भएका गाडी ट्याक्सी दर्ता हुन पाउने छैनन् । अहिले ८ सय सीसीभन्दा कम क्षमताका सञ्चालनमा छन् । पछिल्लो समय ईभीको आयातले लग्जरी सेगमेन्टका ट्याक्सीसमेत सञ्चालनमा छन् ।
साथै प्रत्येक ट्याक्सीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको हुनुपर्ने उल्लेख छ । साथै ट्याक्सीको छतमा पहेँलो रङ लगाइएको हुनुपर्ने उल्लेख छ । आन्तरिक इन्जिन जडित सवारी १२०० सीसीभन्दा माथि क्षमता हुनुपर्ने छ । इन्जिन डिस्प्लेसमेन्ट भोल्युम १.५ प्रतिशतसम्म कमसमेत समावेश भएको हुनेछ । यस्तै विद्युतीय सवारीको हकमा ब्याट्रीबाट सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कुल भार (जीभीडब्लु, केजी) बीचको न्यूनतम अनुपात ०.१९ हुनुपर्ने उल्लेख छ ।
आकार यान्त्रिक क्षमता तथा उपलब्ध सुविधास्तरलगायत आधारमा ट्याक्सीलाई साधारण(अर्डिनरी) विशेष(डिलक्स) र विशिष्ट(लक्जरी) गरी तीन किसिमले छुट्याएको छ ।
सोहीअनुसार एक हजार सीसी सञ्चालित ट्याक्सी साधारण, १२ सय सीसी क्षमताभन्दा माथिका डिलक्स र २ हजार सीसी क्षमता माथिका ट्याक्सीलाई लक्जरी ट्याक्सीका रूपमा वर्गीकरण गरेको छ ।















