पोखरा ।
एवान ग्रेटर नेपाल यातायात प्रालिले ट्राफिक सचेतना जगाउँदै क्यालेण्डर विमोचन गराएको छ । बुधबार ट्राफिक सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गर्दै क्यालेण्डर विमोचन गरिएको हो । अन्तरक्रियामा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख सोभा पाण्डेले ट्राफिक नियमको पालना गरे कारबाही र जरिवाना गर्न नै नपर्ने बताइन् ।
सबैले ट्राफिक नियमको पालना गर्ने हो भने, सडक खाल्डाखुल्डी भएपनि ट्राफिक व्यवस्थापन युरोपियन शैलीकै हुने उनको टिप्पणी छ । ‘हो हाम्रा सडक खाल्डाखुल्डी छन् । केही साँघुरा पनि होलान तर, सबैले ट्राफिक नियमको पालना गर्ने हो भने हाम्रो ट्राफिक व्यवस्थापन युरोपियन मुलुकमा भन्दा कम हुँदैन’ उनले भनिन् ।

अन्तरक्रियामा सहभागी ट्याक्सी चालकले ट्राफिक प्रहरीले रातो नम्बर प्लेट र कालो नम्बर प्लेटका सवारी साधन र चालकलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताएका थिए । उनीहरुले आफूहरुलाई ट्राफिक प्रहरीले तँ भनेर हेप्ने गरेको बताए । ‘गल्ती केहि गरेको हुन्न, नत ट्राफिक नियम नै उलंघन गरेको हुन्छ, चालक मध्यका एक चालकले भने, ‘एक्कासी ओई तँ यता आईज, ट्याक्सी साईड लगा, तँ साईड लाग, लाईसेन्स, ब्लुबुक निकाल भनिन्छ, हामीलाई किन हेपेर बोलेको ट्राफिक प्रहरीले ? ।’ त्यतिमात्र होईन उनीहरुले आफूहरुलाई सम्मान गरेर बोल्दा ट्राफिक प्रहरीको के बिग्रिन्छ ? भनेर प्रश्नसमेत गरे । गल्ती गरे कारवाही गर्न छुट भएपनि हेपेर नबोले हुन्थ्यो भन्ने उनीहरुको आग्रह थियो ।
ज्वाफमा ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख पाण्डेले चालकलाई मात्रै होईन, कसैलाईपनि त्यसरी भन्न नमिल्ने र कोही ट्राफिक प्रहरीले त्यस्तो व्यवहार गरे १०३ र १०० मा सिधै फोन गरेर जानकारी गराउन आग्रह गरिन् । ‘प्रत्येक ट्राफिक प्रहरीको छातीमा नेमप्लेट हुन्छ, उनले भनिन् जसले अपमान वा दुव्र्यवहार गर्छ त्यसको नामसहित कम्प्लेन गर्नूस् तर रिजनेबल कारणसहित, त्यसलाई हामी कारवाही गर्छौं ।’
एवान ग्रेटर नेपाल यातायात प्रालिका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रालिले बनाएको नया वर्ष २०८२ सालको भित्तेपात्रो विमोचन गरिएको थियो भने आपसमा शुभकामना आदानप्रदानपनि गरिएको थियो । कार्यक्रममा विभिन्न यातायात मजदुर संगठनका नेताहरुले समेत शुभकामना दिएका थिए ।















