काठमाडौं ।
आज प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरुको संयुक्त बैठक बस्न लागेको पहिलोपटक हो ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक आज अपराह्न चार बजे बस्न लागेको हो ।
संक्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बस्न लागेको हो । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया लगायतका विषयमा छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।
यसअघि संक्रमणकालीन न्यायसँग सम्बन्धित दुवै आयोगमा पदाधिकारी नियुक्ति सिफारिसका लागि सर्च कमिटी गठन भएपनि उक्त कमिटीले सिफारिस नगरी म्याद गुजारेको थियो । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले आवेदन आह्वान गर्ने, सूची बनाउने र आवेदकहरूसँग अन्तर्वार्ता गर्ने लगायतका प्रक्रिया पूरा गरेपनि नियुक्तिका लागि नाम सिफारिस गर्न सकेको थिएन ।
आजको बैठकमा राजावादीहरुले बढाएको गतिविधि र गणतन्त्रवादी दलहरुको भूमिकाका विषयमा पनि छलफल हुने बताइएको छ ।














