काठमाडौँ ।
जनमत पार्टीसँग एकताको विषयमा छलफल गर्न आज नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । पुरानो बानेश्वरको एक क्याफेमा बस्ने बैठकले डा।सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकताको विषयमा छलफल गर्ने सो पार्टीका सांसद लालवीर चौधरीले बताए ।
‘एकताका सबै कुरा लगभग टुंगिसकेको छ, त्यसलाई औपचारिकता दिनका लागि आजको बैठक बोलाएको हो ’ उनले भने । दुवै पार्टीबिच पार्टीको चुनाव चिन्ह ढकिया हुने, अध्यक्षमा डा।सिके राउत, संरक्षक रेसम चौधरी र सहसंयोजक रञ्जिता श्रेष्ठ रहने सहमति भइसकेको छ । रञ्जिता श्रेष्ठलाई पार्टी सङ्गठन विभागको जिम्मेवारी दिने पनि स्रोतले जनाएको छ । त्यस्तै लालवीर चौधरीलाई पार्टीको प्रमुख सल्लाहकार संयोजकको जिम्मेवारी दिने लगभग तय भइसकेको छ ।
दुवै पार्टीका अन्य पदाधिकारी तथा नेताहरूको व्यवस्थापन आपसी सहमतिको आधारमा टुङ्गो लगाउने तयारी भइरहेको बताइएको छ । पार्टी नामको विषय टुङ्ग्याउन बाँकी छ । अध्यक्ष सिके राउतले पार्टीको नाम ‘जनमत पार्टी’ नै राख्ने भनिरहेका छन् भने रेसम चौधरीले नागरिक जनमत पार्टी राख्न प्रस्ताव गरेका छन् ।
दुई दिनसम्म चल्ने सो बैठकमा पार्टी शुद्धीकरणको विषयमा पनि छलफल हुने बताइएको छ । बैठकमा रेसम चौधरी जेलमा हुँदा स्थापना भएको बेलाका केन्द्रीय सदस्य, केन्द्रीय सदस्यमा अनुमोदन भएका पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार, पालिका प्रमुख–उपप्रमुखहरू र प्रथम महाधिवेशनबाट निर्वाचित सम्पूर्ण केन्द्रीय सदस्यहरू सहभागी हुनेछन् । संस्थापक सदस्यहरू पनि बैठकमा सहभागी हुनेछन् ।
बैठकमा आउँदा केन्द्रीय सदस्यहरूका लागि पार्टीले प्रदान गरेको केन्द्रीय सदस्य प्रमाणपत्र अनिवार्य गरेको छ । सो प्रमाणपत्र नहुनेले बैठकमा सहभागी हुन पाउने छैन । त्यस्तै पार्टीले कारबाही गरेका केन्द्रीय सदस्यलाई बैठकमा सहभागी नगराइने बताइएको छ ।
पार्टी अध्यक्षको विषयलाई लिएर निर्वाचन आयोग तथा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । महाधिवेशनपछि निर्वाचन आयोगले पार्टीलाई अद्यावधिक गरेको छैन ।
यही अवस्थामा नागरिक उन्मुक्ति पार्टीले जनमत पार्टीसँग एकता गरिरहेको छ ।














