देशलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुँदैन : एमाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले देशलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल नहुने बताएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध सुनियोजित गतिविधिहरू भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले लोकतान्त्रिक गणतन्त्र नेपाली नागरिकको सात दशक लामो बलिदानीपूर्ण संघर्षको परिणाम भएको उल्लेख गर्दै नागरिकको यस फैसलालाई उल्ट्याउने र देशलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने जिकिर गरे । ‘केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेको सुनियोजित गतिविधिहरूप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले भने, ‘लोकतन्त्र स्थापनापछिको छोटो समयमा नै नेपालले महत्त्वपूर्ण प्रगति हासिल गरेको छ । गर्नुपर्ने कामहरू धेरै छन् तर उपलब्धिलाई अस्वीकार गर्ने, एकोहोरो नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने र त्यसकै बहानामा देशलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन सक्दैन । २१औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हाँस्यास्पद, हानिकारक र निरर्थक विषय हो ।’

बैठकमा एमालेले संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चितता, सुशासन, प्रभावकारी सेवा प्रवाह र आर्थिक विकास र सुधारको दिशामा अघि बढ्न प्रतिबद्ध रहेको बताएको छ । संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरी लोकतान्त्रिक प्रणाली थप सुदृढ बनाउन दृढ सङ्कल्पित रहेको बताएको छ ।

  • ३ चैत्र २०८१, सोमबार १९:३० प्रकाशित